© 2026
बुटवल । साहुबाका कृषि सहकारी संस्था लिमिटेड, बुटवल–१६ सेमलार रूपन्देहीको आयोजनामा फलफूल नर्सरी स्थापना तथा व्यवस्थापन तालिम सुरु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको उद्घाटन बुटवल–१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले गरेका थिए ।
सहकारीका अध्यक्ष सुदर्शनदेव जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले कृषि क्षेत्रको विकासका लागि सीपमूलक तथा व्यवहारिक तालिम आवश्यक रहेको बताए ।
उनले कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर उत्पादन वृद्धि तथा आयआर्जनमा वृद्धि गर्न सहभागीहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जीसीले गुणस्तरीय बिरुवा उत्पादन र व्यवस्थित नर्सरी सञ्चालनले कृषि क्षेत्रको दिगो विकासमा टेवा पुग्ने बताए । उनले स्थानीय तहले कृषकको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै तालिमबाट सिकेका सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सुझाव दिए ।
त्यसै गरी, साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल पौडेलले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहकारी र स्थानीय सरकारबिचको सहकार्य आवश्यक रहेको बताए । उनले फलफूल खेतीको विस्तारसँगै गुणस्तरीय बिरुवाको माग बढ्दै गएको उल्लेख गर्दै नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञानले कृषकहरूलाई थप लाभ पुग्ने विश्वास व्यक्त गरे ।
वडा सदस्य बसन्ती हमालले कृषिमा महिलाको सहभागिता बढाउन यस्ता तालिम प्रभावकारी हुने बताउँदै कृषकहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर कार्यक्रम आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रमका अध्यक्ष सुदर्शनदेव जोशीले सहकारीले सदस्य तथा स्थानीय कृषकहरूको सीप विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले तालिमले फलफूल नर्सरी स्थापना तथा व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरी कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ अग्रसर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालिममा प्रशिक्षक राजेश कुँवरले सहजीकरण गरिरहेका छन् । उनले फलफूल नर्सरी स्थापना, बिरुवा उत्पादन, माटो व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, सिँचाइ व्यवस्थापन र बिरुवा संरक्षण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा स्थानीय कृषक, युवा तथा कृषि क्षेत्रमा रुचि राख्ने व्यक्ति ३५ जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । कृषि उत्पादन वृद्धि, स्वरोजगार सिर्जना तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिमले स्थानीय कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।