Butwal Today

विसंगतिविरुद्ध सचेत हुने कहिले ? 

२ असार २०८३, मंगलवार
अ+
अ-

रास्वपाको नेतृत्वमा नयाँ सरकार बनेसँगै नेपाली नागरिकका दुःख र पीडाका दिन सुरु भएका छन् । चैत १३ गतेयता नागरिकले अनेकखालको सास्ती भोग्नुपरेको छ । सुकुम्वासीलाई देश निकाला गरेजस्तै गरि होल्डिङ सेन्टरमा कष्टपूर्ण जीवन बिताउन बाध्य पारिएको छ ।

सुर्खेतमा काफल बेच्दै गरेकी महिलाको काफल सडकमै फालियो । पछिल्लो पटक दण्डहीनता मौलाउँदै गरेको अर्को उदाहरण कैलालीमा देखियो । अतिक्रमित वन क्षेत्र खाली गर्ने नाममा वनका कर्मचारीले टेम्पो नै भीरबाट खसालिदिएका छन् ।

गोदावरी नगरपालिका–४ की धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरसम्म पु¥याउँदै खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बालेनको नेतृत्वको सरकारले गरिवलाई गरिखान नदिने गुनासोमात्रै होइन, पछिल्ला केही दृष्टान्तले सरकार निरङ्कुश बन्दै गएको अनुभूति जनताले गरेका छन् ।

सामान्य निहुँमा सरकार आक्रामक हुन थालेको छ । यस्तो लाग्दै छ–काट्टो खाने बाहुनलाई काठमाण्डौं उपत्यका कटाएजस्तै बालेन सरकार गरिवलाई देश कटाउने बहादुरी काम गर्दैछ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । तर, छानविन नाटक भएको छ । डिभिजन वन कार्यालयले त्यतिमात्रै गरेन, नजिकै रहेको घरमा माथिबाट ढुंगा खसालेर घर क्षतिग्रस्त बनाईदिएको छ ।

यस्तो लाग्दै छ–सुकुम्वासी हटाउने नाममा जति नै ठूलो अपराध गरेपनि सरकारले छुट दिन्छ । देशमा दण्डहीनताको यो अवस्था बढिरहँदा अहिदे देशैभरि हत्या, लूटपाट र अपराधका घटना बढिरहेका छन् ।

सरकारको अकर्मण्यताका कारण देशका विभिन्न स्थानमा अहिले दिउँसै लुटपाट र हत्याका घटना भइरहेका छन । दण्डहीनताले प्रश्रय पाईरहेको छ । संघीय राजधानीमै नागरिकहरू सुरक्षित छैनन् । कुमार थापा जस्ता गुण्डाले श्रीमतिको निशृंस हत्या गर्छन ।

यी र यस्ता घटना धेरै भैरहेका छन् । कति निरीह र लाचारी छ यो सरकार । मैले जे गर्दा पनि हुुन्छ भन्ने मनस्थिति र आपराधीक मनोबृत्ति जनतामा पलाउँदै छ । बालेन सरकारले भ्रष्टाचारीलाई कारवाही गर्ने भन्दै जनताको अगाडी झुठा आश्वासन बाँडेको थियो तर सरकार बनेको तीन महिना हुँदै गर्दा एउटा पनि भ्रष्टाचारको घटना छानविनमा सरकारलाई सफलता प्राप्त भएको छैन् । बरु उल्टै प्रोत्साहन गर्ने गरिएको छ ।

यो बेथिति पनि सरकारले सिर्जना गरेको परिणामको उपज हो । जसले जे गरे पनि हुने र अनुशासनको पालन नहुँदा जस्तो बोले पनि हुन्छ भन्ने मानसिकता बढ्दै छ । दण्डहीनतालाई बढावा दिँदा भोलि जनता र देशका निमित्त ठूलो आघात पर्न सक्छ भन्ने कुरा समेत ख्याल नगर्ने सत्ताधारी दलमा उन्माद बढेको छ ।

सरकारको दोषीलाई कारवाही भन्दा पनि प्रश्रय दिने कारणले गर्दा शान्ति सुरक्षा, अमनचयन जनताले महशुस गर्न सकेका छैनन् । सोमबारमात्रै भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँच्न निर्देशन दिएका छन् । मन्त्रीले सार्वजनिक स्थानमा यसरी खुट्टा नै भाँच्ने गरि निर्देशन गरिरहँदा सरकारप्रति प्रश्न उठ्न थालेको छ ।

सिंगो निर्माण व्यवसाय क्षेत्रले राज्यबाट संरक्षण खोजिरहेको बेला जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु गंभीर एवं चिन्ताको कुरा हो । अर्कोतर्फ सरकारको छत्रछायाँमा लुटपाट र डकैती मौलाएको छ । सरकारले दोषीलाई कारवाही नगर्ने बेथिती निम्त्याउँदै छ । जसका कारण दण्डहीनताले प्रश्रय पाएको अवस्था छ । सरकारले दण्ड नियन्त्रण गर्ने होइन कि दण्ड गर्नेलाई प्रोत्साहन गरिरहेको छ ।

तसर्थ अव जनताले नै सचेतना अपनाउँदै खबरदारी गर्ने बेला आएको छ । सरकार सही बाटोमा हिँडेन भने जनताले आवश्यक निर्णय लिने दिन नआउला भन्न सकिदैन् । प्रधानमन्त्रीको काम गराईको शैली र मन्त्रीहरूको रवैयाले देशले अभिभावक गुमाएको महसुस गर्नुपरेको अवस्था छ । सरकार गंभीर बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?