Butwal Today

सरकार जनतालाई राहत देऊ

२८ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार वनेको असार १३ गते तीन महिना पूरा हुँदै छ ।

यसबिचको करिब ७५ दिनमा बालेन सरकारले जनतालाई आशाभन्दा निराश बनाएको छ । बालेन हठका कारण सुकुम्वासीले आत्महत्या गर्न विवश भएको धेरै भएको छैन । सुकुम्वासी परिवारमा बगेको आँसुको भेल रोकिएको छैन ।

त्यो सँगै नेपालीको भान्सा महँगो गराउने काम बालेन सरकारले गरेको छ । अहिले बजार भाउ आकासिएको छ । नेपाल राष्ट्र बैङ्कले मंगलबार एक प्रेस नोट जारी गर्दै बालेन सरकार बनेपछि मूल्यवृद्धि ५ प्रतिशत भन्दा माथिले बढेको जनाएको छ ।

अर्कोतर्फ डिजेल पेट्रोल बढ्दा ढुवानी भाडा समेत बढेको छ । यसले गर्दा बजारमा खाद्यान्न, तरकारी र अन्य उपभोग्य वस्तुको मूल्य पनि छोई नसक्नु भएको छ । यातायात व्यवस्था विभागले मालवाहक सवारीको भाडा १५ देखि २१ प्रतिशतसम्म बढाएपछि किसानले सस्तोमा बेचेका तरकारी पनि उपभोक्ताको भान्सासम्म आइपुग्दा निकै महँगो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ र ढुवानी खर्च बढ्दा बजारमा खाने तेल, दाल र गेडागुडीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको वैशाख महिनाको मासिक मूल्य समीक्षा प्रतिवेदनले भारतबाट आयात हुने कच्चापदार्थको मूल्यमा भएको वृद्धि र पेट्रोलियम पदार्थमा भएको तीव्र मूल्यवृद्धिका कारण ढुवानी खर्च बढ्दा चामलको मूल्य बढेको देखिएको छ ।

पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्याँसको मूल्यमा भएको उतारचढावले पनि भान्साको बजेट बिगारिदिएको छ । युद्धअघि प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ रहेको ग्याँसको मूल्य अहिले २ हजार १ सय ६० पुगेको छ ।

सरकारले लामो समय हुँदासम्म पनि अझै आधा सिलिन्डर (७.१ किलो) को ग्याँस बजार पठाइरहेकाले त्यसबाट घाटा परेको उपभोक्ताको गुनासो छ । ग्याँसको मूल्य समायोजन हुँदा आधा सिलिन्डर लिँदा पनि मूल्य उही अनुपातमा पर्ने भए पनि थप सिलिन्डर खरिद गर्दा लाग्ने अतिरिक्त खर्च र समय व्यवस्थापन झन्झटले उपभोक्तालाई प्रत्यक्ष असर पारिरहेको छ । आधा सिलिन्डर व्यवस्थापनले बजारमा आर्थिक भार र प्राविधिक समस्या मात्रै थपेको छ ।

अहिले बढेको महँगी नियन्त्रणमा आओस् भन्ने चाहना आम नागरिकको छ । हुन पनि अहिले बढिरहेको महँगीले सीमा नाघेको छ । त्यसै पनि नेपालको आर्थिक अवस्था त्यति सहज छैन । महँगीले आम नागरिकको ढाड सेकेको छ । नेपालबाट तेस्रो देश निर्यात निरन्तर ओराली लागिरहेको अवस्था छ । यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामाथि परिरहेको छ ।

नेपाली बजार उपभोक्ताको पहुँचभन्दा बाहिर गइरहेको छ । यो गम्भीर परिस्थितिमा बाहिरी देशवाट नेपालमा आईरहेको रेमिटान्सले समेत बजारमा मूल्य बढाउन मद्दत गरिरहेको छ । सरकारले बजार मूल्य नियन्त्रणका लागि कुनै कार्यक्रम सार्वजनिक गर्न नसक्दा तल्लो स्तरका जनता तथा उपभोक्ताले ठूलो भार खेप्नु परिरहेको छ ।

मूल्य नियन्त्रणको उपाय हुँदा पनि नेपाल सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन । वस्तुको मुल्य नियन्त्रण सरकारको दायित्व हो तर सरकारले महँगी नियन्त्रण गर्न सकेको छैन । मूल्य बृद्धि नियन्त्रण नहुँदा सर्वसाधारण जनता ठूलो मारमा परेका छन् ।

सरकार हुनु र नहुनुको अनुभूति गर्न नपाउनु बिडम्वना हो । अझैपनि समय छ– सरकारले महँगी नियन्त्रण गर्न गंभीररूपमा कदम चाल्नु जरुरी छ । जनतालाई तत्कालको लागि राहत चाहिएको छ । अव सरकारले पेट्रोलियमको मूल्य घटाएर भएपनि उपभोक्तालाई राहत नदिने हो भने आर्थिक संकुचन झनै पीडादायी हुनेछ । अहिले जनतालाई आश्वासन होइन, तत्काल राहत चाहिएको छ ।

बालेन सरकारको यो विषयमा तत्काल ध्यानाकर्षणको खाँचो छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?