© 2026
नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धनको युग सुरुवात भएको छ । यो पर्यटन क्षेत्रका लागि नयाँ युग हो भन्दा फरक पर्दैन । सार्वजनिक बिदा हुनेवित्तिकै ऐतिहासिक स्थल घुम्ने आन्तरिक पर्यटकको घुँईचो लाग्न थालेको छ ।
उदाहरणकै लागि नेपालमा गत साता एकै पटक चार दिन सार्वजनिक बिदा प¥यो । चार दिने सार्वजनिक बिदामा नेपालका पर्यटकीय क्षेत्र भरिभराउ भए । लुम्बिनी प्रदेशकै कुरा गर्ने हो भने पाल्पाको रानीमहल, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको नरपानी लगायतका क्षेत्रमा पर्यटक भरिभराउ भए । आन्तरिक पर्यटकले विदेशीले भन्दा धेरै खर्च पनि गर्ने गरेको पाइएको छ ।
त्यसै गरी पाल्पामा रहेको ढोलीमारा होमस्टे, गुल्मीको सत्यवतीमा रहेको रानीबन होमस्टे जस्ता थुप्रै होमस्टेले पर्यटक आकर्षण थपिरहेका छन् । तराईमा अहिले गर्मीको समय सुरु भएकोले हुनसक्छ सार्वजनिक बिदा हुनासाथ पहाडी क्षेत्रमा पर्यटकको ठूलो भीड लाग्न थालेको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा त बाह्रै महिना पर्यटक आउँछन् । आन्तरिक सँगै अहिले विदेश पर्यटकको आगमन बढिरहेको छ । निश्चित रूपमा पर्यटक आगमनले नेपाललाई खुसी बनाएको छ । नेपालमा आर्थिक मन्दीको असर अझै पनि धेरै थोर कायमै रहेको अवस्थामा जसरी पर्यटकले उत्साह बढाएको छ, यसले भोलिको दिनमा पर्यटन क्षेत्रमा आशाको किरण छाउने छ ।
नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटक आगमन उत्साहकै अवस्थामा रहेको जनाएको छ । पछिल्लो समय भारतबाट आउने पर्यटकले आर्थिक गतिविधि बढाउन मद्दत गरेका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् ।
यसले नेपालको पर्यटन क्षेत्र कोरोनापछिको पुरानै अवस्थामा फर्किने आशा एवं विश्वास गरिएको छ । अहिले भारतबाट आउने पर्यटकले आशा भरेका छन् । सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेका छन् । अव उनीहरूको बसाई अवधी लम्ब्याउनेतर्फ पहल जरुरी छ ।
अव यही रफ्तारमा पर्यटक आगमन बढ्ने हो भने नेपालले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत बनाउन सक्छ तर त्यसका लागि नेपालले अझै मेहनत भने गर्नुपर्नेछ । त्यसका लागि सम्बद्ध पक्ष गम्भीर हुनै पर्दछ । आन्तरिक पर्यटनले बढाएको उत्साहको प्रभाव बाह्य पर्यटन क्षेत्रमा पनि पर्ने अवस्था देखिएको छ । यो भनेको आशाको किरण हो ।
पर्यटन क्षेत्रबाट सम्मृद्धिको आशा जगाउने प्रमुख गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि हो । लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै माथि उठ्न थालेको छ । लुम्बिनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।
पर्यटक आगमनको सिजन भएकोले पनि लुम्बिनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ । तर, लुम्बिनी आउने पर्यटकहरू अधिकांश लुम्बिनीभित्रका विहार र गुम्बामा बस्दा होटल व्यवसायी भने मारमा परेको गुनासो छ ।
अर्बौ लगानी गरि खुलेका होटल व्यवसायमाथि धराप हुने खालको कुनैपनि कृयाकलाप हुनुहुँदैन । लुम्बिनीभित्रका गुम्बा र बिहारमा पर्यटक बस्दा बाहिरका होटल व्यवसायी धरापमा परेका छन् । गत बर्ष भएको सहमतिमा गुम्बा र विहारमा पर्यटक राख्न नपाइने सहमति भएको थियो तर त्यो सहमति अक्षरशः पालना भएको छैन् । लुम्बिनीजस्तै अरू पर्यटन क्षेत्रको विकासमा पनि सरकारको आँखा पुगोस् ।
लुम्बिनी प्रदेशको सम्मृद्धिको आधार पर्यटन क्षेत्र पनि बन्ने कुरामा शंका छैन् । लुम्बिनी प्रदेशका रहेका दर्जनौ पर्यटन क्षेत्रको विकासमा अव ढिलाई गर्ने बेला होइन । आन्तरिक पर्यटनले बढाएको उत्साहलाई कम होइन, उचाईमा पु¥याउनेतर्फ सवैको पहल आवश्यक छ ।
प्रदेश सरकार र स्थानीय पालिकाहरूले आ–आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने हो भने आन्तरिक पर्यटन प्रवर्द्धनको यात्रामा होस्टेमा हैंसे हुनेछ । अतः अहिले देखिएको पर्यटन उत्साहलाई कम होइन, अझै बढाउनेतर्फ ध्यान जाओस् ।