Butwal Today

चम्किँदै लुम्बिनी प्रादेशिक अस्पताल: ६ शैयाबाट ६ अर्बको यात्रा

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  पश्चिम नेपालको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा परिचित लुम्बिनी प्रादेशिक अस्पताल पछिल्ला वर्षहरूमा सेवा विस्तार, प्रविधि प्रयोग र गुणस्तरीय उपचारका दृष्टिले उल्लेखनीय रूपमा अगाडि बढिरहेको छ । ११६ वर्षको गौरवशाली इतिहास बोकेको यो अस्पताल अहिले लाखौँ नागरिकको भरोसाको केन्द्र बनेको छ ।

सस्तो, सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची सहित साबिक लुम्बिनी अञ्चलका करिब ४ लाखभन्दा बढी नागरिकलाई वार्षिक रूपमा सेवा दिँदै आएको छ भने इमरजेन्सीमा करिब १ लाखले सेवा लिएको रेर्कड पाउन सकिन्छ ।

लुम्बिनी प्रदेशका झन्डै ६० प्रतिशत बिरामीले यही अस्पतालबाट उपचार सेवा लिने गरेका छन् भने देशका ७१ जिल्ला तथा भारतका आन्द्रप्रदेश, अरूणाचल, उत्तर प्रदेश र पश्चिम वगांलबाट समेत यस अस्पतालमा उपचार गराउन आउने तथ्याङ्कले देखाउँछ ।

६ शैयाबाट ५ सय १५ शैयासम्मको यात्रा:
वि.सं. १९६७ फागुन १५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा ६ शैयाबाट सुरु भएको अस्पताल समयसँगै विस्तार हुँदै अहिले ५ सय १५ शैयाको अत्याधुनिक अस्पतालमा परिणत भएको छ । वि.सं. २०७५ मा सङ्घीयता कार्यान्वयनपछि अस्पताल प्रदेश सरकार मातहत आएको हो । त्यसपछि यसको नाम “लुम्बिनी प्रादेशिक अस्पताल” राखिएको थियो ।

न्यूनतम सेवा मापदण्डमा लगातार पहिलो
अस्पतालले स्वास्थ्य मन्त्रालयद्वारा गरिने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लगातार तेस्रो पटक नेपालमै पहिलो स्थान हासिल गरेको छ । पछिल्लो मूल्याङ्कनमा अस्पतालले ९० अङ्क प्राप्त गर्दै देशकै उत्कृष्ट सरकारी अस्पतालको पहिचान कायम राख्न सफल भएको हो ।

विशेषज्ञ सेवा र अत्याधुनिक प्रविधि
हाल यस अस्पतालमा कुल ९ सय ९१ जना जनशक्तिमध्ये केवल २ सय ७८ जना (करिब २८ प्रतिशत) मात्र सङ्घीय र प्रदेश सरकारका स्थायी कर्मचारी हुन् । बाँकी ७ सय १३ जना (करिब ७२ प्रतिशत) जनशक्ति भने अस्थायी, करार र ज्यालादारीको रूपमा कार्यरत छन् ।

अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, बाल रोग, अर्थोपेडिक, स्त्री तथा प्रसूति रोग, आँखा, छाला र दन्त सेवा उपलब्ध छन् । त्यस्तै न्युरो मेडिसिन, न्युरो सर्जरी, कार्डियोलोजी तथा ग्यास्ट्रोलोजी जस्ता सुपर स्पेसियालिटी सेवा पनि सञ्चालनमा छन् ।

एमआरआई, सीटी–स्क्यान, इन्डोस्कोपी, कलोनोस्कोपी, ईईजी, इको लगायतका अत्याधुनिक सेवा सञ्चालनमा रहेका छन् । डिजिटल पेमेन्ट, एसएमएस मार्फत रिपोर्ट पठाउने व्यवस्था तथा चौबीसै घण्टा स्वास्थ्य बिमा र सामाजिक सेवा इकाई सञ्चालनले बिरामी मैत्री सेवा विस्तार गरेपछि काठमाडौँ धाउनुपर्ने बाध्यता कम भएको छ ।

अस्पतालले डिजिटल पेमेन्ट, अनलाइन टिकट, एसएमएसमार्फत रिपोर्ट पठाउने व्यवस्था तथा डिजिटल टोकन प्रणाली लागू गरेर सेवाग्राहीलाई सहजता दिएको छ । जसका लागि ९ वटा टिकट तथा विलिङ्ग काउण्टरहरू सञ्चालनमा रहेका छन् । जसले गर्दा सेवा प्रवाहमासरलता छाएको छ ।

पाँच वर्षमै सेवाग्राहीको सङ्ख्या तीन गुणाले वृद्धि:
अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) मा आउने बिरामी सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ८ सय ६४ रहेकोमा २०८१÷८२ मा बढेर ३ लाख ८८ हजार ८ सय ४२ पुगेको छ ।

आकस्मिक सेवामा पनि बिरामी चाप उल्लेख्य रूपमा बढेको छ । ४४ हजार ८ सय १३ बाट बढेर ७९ हजार २ सय ४३ पुगेको तथ्याङ्क रहेको अस्पताल रेर्कड शाखा प्रमुख पञ्कँजप्रसाद पटेल बताउँछन् । दैनिक प्रयोगशाला परीक्षण ८ सय १० बाट बढेर ४ हजार ६ सय ३९ पुगेको छ भने एक्स–रे, भिडियो एक्स–रे र ईसीजी सेवामा समेत उल्लेखनीय वृद्धि भएको छ ।

बेड विस्तारसँगै बढ्दो दबाब:
हाल अस्पतालमा ५ सय १५ शैया सञ्चालनमा छन् । प्रसूति वार्डमा सबैभन्दा बढी १ सय १४ बेड, क्याबिनमा ४७, मेडिसिनमा ४० तथा आकस्मिक कक्षमा ३३ बेड र अन्य मा गरि सञ्चालनमा रहेका छन् । बेड उपलब्धता बढे पनि बिरामी चाप अझै थेगिनसक्नु रहेको अस्पताल प्रशासनको भनाइ छ । अस्पतालको बेड अकुपेन्सी दर ५६ प्रतिशतबाट बढेर ८८ प्रतिशत पुगेको छ ।

सामाजिक सेवाबाट हजारौँ विपन्न लाभान्वित
आर्थिक वर्ष २०८१/८२ मा सामाजिक सेवा इकाई मार्फत ८ हजार ८ सय ९६ जनाले सेवा लिएका छन् । तीमध्ये ५ हजार ३ सय २६ जना ज्येष्ठ नागरिक तथा २ हजार ८ सय ७२ जना विपन्न र अति विपन्न वर्गका रहेका छन् ।

अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बिरामी तथा बेवारिसे बिरामीले समेत सहुलियतपूर्ण वा निःशुल्क उपचार सुविधा पाएको र आउँदा दिनहरूमा पनि यसलाई निरन्तर रूपमा सञ्चालन गरिने लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति सदस्य कल्पना ढकालको भनाई छ ।

बिमा रकम रोकिँदा आर्थिक सङ्कट
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अस्पतालले पाउनुपर्ने ६० करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन सकेको छैन । अस्पताल प्रशासनका अनुसार हाल स्वास्थ्य बिमा बोर्डबाट पाउन बाँकी रकम ६० करोड ४७ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार बिमाको रकम समयमा नआउँदा औषधि खरिद, उपकरण मर्मत तथा नयाँ प्रविधि विस्तारमा गम्भीर समस्या देखिएको छ । उनले भने, “बिमा बापतको रकम लामो समय रोकिँदा अस्पतालको आर्थिक चक्र नै प्रभावित भएको छ । यस्तै अवस्था रहे सेवा निरन्तरतामै चुनौती आउन सक्छ ।” भन्ने भनाई डा. गौतमको छ ।

६ अर्बको अत्याधुनिक १२ तले भवन निर्माणाधीन
लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना अन्तर्गत अस्पताल परिसरमा ६ अर्ब १८ करोड रुपैयाँ लागतमा अत्याधुनिक १२ तले भवन निर्माण भइरहेको छ । नयाँ भवनसँगै यसको सेवा र सुविधामा समेत थप गरिँदै १२ सय शैयाको अस्पताल बनाउने योजनाका साथ काम तीव्र गतिमा सञ्चालन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको भनाई छ ।

भवनमा हेलिप्याड, आधुनिक इमर्जेन्सी सेवा तथा १ सय वेडको क्यान्सर बल्क उपचार कक्ष छुट्टै भवन निर्माण कार्य गरिँदै छ । निर्माण कार्य २०८५ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जनाए ।

आगामी योजना र नीति
हालै सार्वजनिक प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार यस अस्पतालमा जलन उपचार सेवा विस्तार गरिँदै छ । साथै, यस अस्पतालमा मेडिकल शिक्षा (चिकित्सा शास्त्र) अध्यापन गराउनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यसमेत अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

हाल यस अस्पतालमा कुल ९ सय ९१ जना जनशक्तिमध्ये केवल २ सय ७८ जना (करिब २८ प्रतिशत) मात्र सङ्घीय र प्रदेश सरकारका स्थायी कर्मचारी हुन् । बाँकी ७ सय १३ जना (करिब ७२ प्रतिशत) जनशक्ति भने अस्थायी, करार र ज्यालादारीको रूपमा कार्यरत छन् ।
दैनिक २ हजारभन्दा बढी बिरामीलाई विशेषज्ञ सेवा प्रवाह गर्ने यस अस्पतालको मुटु तिनै ७ सय १३ जना करार र ज्यालादारी कर्मचारी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

करार कर्मचारीकै भरमा अस्पताल
हाल अस्पतालमा कार्यरत ९ सय ९१ जनशक्तिमध्ये केवल २ सय ७८ जना मात्रै स्थायी कर्मचारी छन् । बाँकी ७ सय १३ जना करार, अस्थायी तथा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत छन् । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार दैनिक दुई हजारभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालको मुख्य आधार नै ती करार कर्मचारी हुन् ।

बढ्दो बिरामी चाप, सीमित पूर्वाधार, आर्थिक दबाब र जनशक्ति अभावका चुनौती हुँदाहुँदै पनि लुम्बिनी प्रादेशिक अस्पताल अहिले पश्चिम नेपालकै सबैभन्दा भरपर्दो सरकारी स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

सेवा विस्तारसँगै गुणस्तरीय उपचार, आधुनिक प्रविधि र बिरामी मैत्री व्यवस्थापनलाई सन्तुलित रूपमा अगाडि बढाउन सके यस अस्पतालले भविष्यमा अझ ठुलो स्वास्थ्य केन्द्रको रूप लिन सक्ने देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल अहिले केवल एउटा सरकारी अस्पताल होइन, हजारौँ गरिब, निमुखा र पीडित नागरिकको आशाको धड्कन बनेको छ ।

तर, यो धड्कनलाई जोगाइ राख्न केवल भवन र प्रविधि पर्याप्त हुँदैन । चिकित्सकको मनोबल, करार कर्मचारीको सुरक्षा, पूर्वाधार विस्तार र आर्थिक स्थायित्व आवश्यक छ । यदि राज्यले समयमै यसको आर्थिक सङ्कट समाधान गर्न सकेन भने, चम्किलो भवनभित्र सेवा दिने हातहरू कमजोर बन्न सक्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?