© 2026
चन्द्रौटा । कपिलवस्तुमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने गतिविधि गरेको आरोपमा उनीहरुलाई शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–२ मा दुर्गा मूर्ति विसर्जनका क्रममा सडकका विभिन्न स्थानमा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने प्रकृतिका उच्छृंखल गतिविधि प्रदर्शन गरिएको थियो ।
सामाजिक सञ्जालमा प्राप्त तस्बिर तथा भिडियोका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ सेमराका २३ वर्षीय विकास यादव, १८ वर्षीय गान्धी चौहान र १८ वर्षीय सुनिल चौहान रहेका छन् । उनीहरूमाथि साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने गतिविधि गरेको आरोप छ ।
त्यस्तै कृष्णनगर नगरपालिका–१ मदरनियाका १९ वर्षीय आर्यन मिश्रलाई घटनामा संलग्न व्यक्तिको भिडियो बनाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिका–११ रामनगर (कप्तानगञ्ज) का २६ वर्षीय हरि नारायण पाललाई पनि साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने विषयवस्तु फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।
उनका अनुसार पक्राउ परेका पाँचै जनामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने गतिविधि नगर्न र सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको उपरीक्षक सिंहले बताए ।
