Butwal Today

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

गण्डकी । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

“दसैँको भोलिपल्टदेखि नै पोखरामा पर्यटकको चहलपहल सुरू भएको छ, लामो बिदा परेकाले पर्यटक आगमन बढेको हो”, उनले भने, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्नका लागि अहिलेको मौसम पनि अनुकूल छ ।” अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले पनि केही दिन पोखरामा बिताउने हुँदा यस याममा विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको आवतजावत बढी देखिन्छ ।

असोज र कात्तिकको समयलाई पदयात्राका लागि उपयुक्त मानिन्छ । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । उनले दसैँ बिदालगत्तै पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए । “पदयात्राका लागि यो याम उत्तम मानिन्छ, दसैँ बिदा पनि परेकाले यो बेला धेरैले घुमफिरको योजना बनाइरहेका हुन्छन्”, उनले भने ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पर्छन् । कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने अधिकांश पर्यटक पोखरा हुँदै जाने गरेका छन् । यो याममा पोखरालाई मात्र गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?