Butwal Today

काशी नोवल एकेडेमी: विश्वासको जग, सफलताको शिखर

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

सिद्धार्थनगर  ।  रुपन्देहीको शैक्षिक इतिहासमा केही यस्ता संस्थाहरू छन्, जसले केवल विद्यालयको रूपमा होइन, हजारौँ अभिभावकको भरोसा र विद्यार्थीहरूको सपनाको आधार बनेर आफ्नो पहिचान बनाएका छन् । तीमध्ये आज अग्र पङ्क्तिमा उभिएको नाम हो, काशी नोवल एकेडेमी ।

शिक्षा केवल किताबको अक्षर होइन, भविष्य निर्माण गर्ने बलियो आधार हो भन्ने विश्वास बोकेर २०५२ सालमा जम्मा ३३ जना विद्यार्थीबाट सुरु भएको यो विद्यालय आज रुपन्देहीकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको विद्यालयमा अहिले १६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हरेक बिहान विद्यालय परिसरमा सुनिने विद्यार्थीहरूको हाँसो, अनुशासन र सिकाइप्रतिको उत्साहले काशी नोवल एकेडेमीको पहिचान झन् बलियो बनाएको छ ।

सुरुवाती दिनहरू सहज थिएनन् । “काशी जुनियर एकेडेमी” नामबाट सुरु भएको विद्यालय सीमित स्रोत, चुनौतीपूर्ण अवस्था र थोरै विद्यार्थीबिच अघि बढेको थियो । तर विद्यालयप्रतिको विश्वास, मेहनत र गुणस्तरीय शिक्षाप्रतिको समर्पणले आज यसलाई “काशी नोवल एकेडेमी” का रूपमा स्थापित गराएको छ ।

सिद्धार्थनगर नगरपालिका–७ नयाँ सडकस्थित भाडाको भवनबाट सुरु भएको शैक्षिक यात्रा अहिले आफ्नै आधुनिक र सुविधा सम्पन्न भवनमा, सिद्धार्थनगर नगरपालिका–१२ जनकपथमा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ ।

विद्यालयमा अहिले ८६ जना शिक्षक तथा २६ जना गैर–शिक्षक कर्मचारी कार्यरत छन् । अनुभवी र दक्ष शिक्षकहरूको टोलीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षा दिइरहेको छ । यही कारणले काशी नोवल एकेडेमी अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो ।

विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे भन्छन्, “विद्यालय भनेको केवल परीक्षा उत्तीर्ण गराउने संस्था होइन, यहाँ विद्यार्थीको चरित्र, सोच, संस्कार र भविष्य निर्माण हुन्छ । हामी प्रत्येक विद्यार्थीलाई आफ्नो सन्तानसरह माया गरेर शिक्षित, अनुशासित र सक्षम नागरिक बनाउने प्रयास गरिरहेका छौं । आज अभिभावकले हामीमाथि गरेको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।”

उनका अनुसार विद्यालयले आधुनिक शिक्षा र संस्कारयुक्त शिक्षालाई सँगसँगै अघि बढाएको छ । “हामी विद्यार्थीलाई केवल किताबी ज्ञान होइन, जीवनमा सफल बन्न आवश्यक आत्मविश्वास, नेतृत्व क्षमता र नैतिकता सिकाइरहेका छौं,” उनले थपे ।

शैक्षिक उपलब्धिको कुरा गर्दा काशी नोवल एकेडेमीले सिद्धार्थनगरमा छुट्टै इतिहास बनाएको छ । २०७९ सालको एसइई परीक्षामा विद्यार्थी अमन बेलबासेले रूपन्देही जिल्लामै प्रथम स्थान हासिल गर्दा विद्यालय मात्रै होइन, सम्पूर्ण क्षेत्र नै गौरवान्वित बनेको थियो ।

त्यस्तै, विभिन्न वर्षहरूमा विद्यालयले सिद्धार्थनगर नगरपालिकाभित्र प्रथम तथा दोस्रो स्थान हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तर प्रमाणित गर्दै आएको छ ।

विद्यालयको इतिहासमा २०६३ साल विशेष स्मरणीय बनेको थियो । त्यस वर्ष एसएलसी परीक्षामा सहभागी ६ जना विद्यार्थीमध्ये ४ जनाले विशिष्ट श्रेणी र २ जनाले प्रथम श्रेणी हासिल गरेका थिए भने । त्यो उपलब्धिले विद्यालयलाई नयाँ उचाइमा पु¥याएको थियो । त्यसयता विद्यालयले उत्कृष्ट नतिजाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।

शिक्षाको गुणस्तरका कारण विद्यालयले विभिन्न सङ्घसंस्था तथा निकायहरूबाट सम्मान र प्रशंसा प्राप्त गरिसकेको छ । रुपन्देहीको शैक्षिक क्षेत्रमा काशी नोवल एकेडेमी आज विश्वासको पर्याय जस्तै बनेको छ ।

विद्यालयको आधुनिक पूर्वाधार पनि उत्तिकै आकर्षक छ । सुविधा सम्पन्न कक्षाकोठा, एसी सुविधा, स्मार्ट क्लास, आधुनिक कम्प्युटर ल्याब तथा सुरक्षित वातावरणले विद्यार्थीलाई सहज र प्रभावकारी सिकाइ वातावरण प्रदान गरिरहेको छ ।

होटल म्यानेजमेन्ट अध्ययनका लागि आधुनिक प्रोडक्सन किचेन र सेवा प्रयोगशाला निर्माण गरिएको छ भने कम्प्युटर साइन्सका विद्यार्थीका लागि नवीनतम सफ्टवेयरयुक्त कम्प्युटर ल्याब सञ्चालनमा छ ।

विद्यालयले विद्यार्थीको पहुँचलाई सहज बनाउन यातायात सेवामा पनि विशेष ध्यान दिएको छ । कोटिहवा, उत्तर, बेथरी, सेमरहवा, बेलहिया लगायतका विभिन्न क्षेत्रमा नियमित बस सेवा सञ्चालन भइरहेको छ । बिहान विद्यालय बस आउँदा विद्यार्थीहरूको अनुहारमा देखिने उत्साहले विद्यालयप्रतिको आकर्षण झल्काउँछ ।

कक्षा ११ र १२ अन्तर्गत व्यवस्थापन सङ्कायमा लेखा शास्त्र, कम्प्युटर साइन्स, अर्थशास्त्र, कोरियन भाषा, होटल म्यानेजमेन्ट र फाइनान्स जस्ता विषय अध्ययन गराइँदै आएको छ । व्यवहारिक तथा उद्योगमुखी शिक्षाले विद्यार्थीलाई भविष्यका अवसरतर्फ डो¥याइरहेको छ ।

विद्यालयले विद्यार्थीलाई बीबीए, बीएचएम, बीसीए लगायत उच्च शिक्षाका साथै अन्तर्राष्ट्रिय करियरका लागि समेत तयार गरिरहेको छ ।
प्राचार्य घिमिरेका अनुसार अहिलेको शिक्षा समयअनुसार परिवर्तन हुन आवश्यक छ ।

“हामी विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, सीप र क्षमता दिन चाहन्छौं । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु हाम्रो उद्देश्य हो,” उनले बताए ।

विद्यालय केवल पढाइमा मात्र सीमित छैन । खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिमा पनि काशी नोवल एकेडेमी अग्रणी छ । विशेष गरी क्रिकेट क्षेत्रमा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कक्षा ११ का विद्यार्थी समिर अली एनपीएल अन्तर्गत लुम्बिनी लायन्स टोलीमा छनोट हुनु विद्यालयका लागि गर्वको विषय बनेको छ ।

त्यसै गरी विद्यालयमा इन्ट्र्याक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, क्विज क्लब तथा चेस क्लब सक्रिय छन् । विद्यार्थीलाई समर, विन्टर, स्प्रिङ र अटम हाउसमा विभाजन गरेर नेतृत्व विकास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई आत्मसात गर्ने लक्ष्यसहित विद्यालयले “लावन्य इन्टरनेशनल एजुकेशन नेटवर्क” सँग सहकार्य गर्दै प्रारम्भिक तहको शिक्षालाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको छ । नर्सरीदेखि यूकेजीसम्म अन्तर्राष्ट्रिय स्तर अनुकूल शिक्षण पद्धति लागू गर्ने तयारीले विद्यालयलाई अझ आधुनिक बनाएको छ ।

आज काशी नोवल एकेडेमी केवल एउटा विद्यालय होइन, हजारौँ सपना बोकेको शिक्षालय बनेको छ । जहाँ अभिभावकले आफ्नो भविष्य देख्छन्, विद्यार्थीले आफ्नो सम्भावना भेट्छन् र शिक्षकले आफ्नो समर्पण ।

गुणस्तरीय शिक्षा, अनुशासन, आधुनिक सुविधा र उत्कृष्ट नतिजाको यात्रासँगै विद्यालय अझ उज्यालो भविष्यतर्फ अघि बढिरहेको छ । ADVT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?