Butwal Today

अलपत्र टापुमा खरबुजा खेती

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

नवलपरासी ।  बर्षाैंदेखि खेर गइरहेको गण्डक टापुमा स्थानीयले खरबुजा खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न थालेका छन् ।

विगत वर्ष देखि नै नेपाली युवा रोजगारीको खोजी गर्दै बिदेसिने गरेको तर तिन वर्ष पहिला नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गरि राम्रो आम्दानी गरेर देखाएपछि स्थानीय पनि खरबुजा खेती तर्फ आकर्षित हुन थालेका हुन् ।

खेर गइरहेको बगर भित्र दिल्लीबाट आएका तिन परिवार बगरमै बसोबास गरि खरबुजा खेतीमा गरेर देखाएका थिए । अहिले स्थानीयवासी पनि खरबुजा खेती गर्न थालेको स्थानीय समाजसेवी लख्खु यादवले बताए । सुरुमा गण्डक नदी किनारको बगरमा खेती गरेका थिए, उनले भने, अहिले आफ्नै नम्बरी अवादी देखी गण्डक नदीले बनाएको बिचको टापु क्षेत्रमा पनि खरबुजा खेती गरेका छन् ।

टापु भित्रै छाप्रो बनाई रातीमा पनि बास गर्दै आएका स्थानीय किसान जोखम नै उठाएर खेती गरेको उनको भनाई थियो । उनका अनुसार उत्पादित खरबुजा खरिदका लागि बुटवल, नारायणघाटसम्मका ब्यपारीहरू आउने गरेका छन् ।

दैनिक चारदेखि पाँच गाडी नियमित रूपमा खरबुजा निकासी भई रहेका छन् । कति मात्रामा खरबुजा उत्पादन भएको छ, त्यसको तथ्याङ्क आउन बाँकी नै रहेको उनले बताए ।

बर्षायामपछि नदीको बालुवा रहेको बगरमा खेती शुरु गरि अहिले फल लिई रहेका छन् । जेठको अन्तिम सातासम्म सबै खरबुजा टिपि सक्नु पर्छ, उनले भने, होइन भने नदीमा बाढी आउन थाले पछि सबै छाडेर भाग्नु पर्ने अवस्था आउँछ ।

विगत वर्षमा लुम्बिनी प्रदेश सरकारले पनि खरबुजा खेती गर्ने किसानलाई अनुदान सहयोग गर्दै आएको थियो, उनले थपे तर गत वर्षदेखि सरकारले अनुदान समेत कटौती गरिदिएको छ । खेर गइरहेको बालुवा बगरबाट खरबुजा फलाएर सजिव सुन निकाली रहेका छन् ।

सरकारले यस्तोलाई सहयोग गर्नु पर्ने उनको भनाइ थियो । सुस्ता गाउँपालिकाले समेत सहयोग गर्नुपर्ने हो, तर गाउँपालिकाले पनि ग्राभेल छरेर विकास देखाउने नाटकीय कार्यलाई मात्र प्राथमिकता राख्ने गरेको छ ।

भारतबाट आउने खरबुजालाई आयात प्रतिस्थापन गरिनुका साथै रोजगारी र नेपालको जिडिपीमा योगदान पु¥याउने कार्य गर्दै आएका किसानलाई गाउँपालिकाले प्राथमिकतामै नराखेको उनको आरोप थियो ।

बगर खेती जस्तै गरे नेपालमै धेरै अवसर भएको भए पनि स्थानीय युवालाई देखाई दिइने, प्रोत्साहित गरिदिइने व्यक्ति भन्दा दलाली गरि विदेश पठाउन उक्साउने सङ्ख्या बढी हुँदा सामान्य लेखपढ गर्ने नेपाली युवा खाडी मुलुक रोज्ने र केही पढेलेखेका युवाहरू अध्ययन भिसा लिई पढ्ने कमाउने उद्देश्यले लिएर युके, युएसए, क्यानडा र अष्ट्रेलिया जस्ता मुलुकको दौडमा छन् ।

खाडीमा थोरै पैसो खर्चेर जाने युवा त कमाएर केही पठाउने गरेका छन, तर युके, युएसए, क्यानाडा र अष्ट्रेलिया जाँदा थुप्रै रकम खर्चेर जानेले कमाएको पैसो पनि पटाउँदैनन्, त्यही घरजम गरेर बस्दा नेपालको युवा मात्रै नभई पुँजी पनि पलायन हुने क्रम बढी छ ।

गण्डक टापु भित्र मात्र नभई अहिले गण्डकी नदीको कटान रोक्नका लागि बगर भरि परक्युपाईनले बार बनाइएको छ । तिनै परक्युपाईन भित्र बगरमा खरबुजा लटरम्म फलेका छन् ।

कम्तीमा ति कुराको पनि अध्ययन गराएर पनि सरकारले स्थानीय युवाहरूलाई बगरखेती प्रति प्रोत्साहित गर्नु पर्ने उनको भनाई थियो । खरबुजाको माग अहिले सबै होटेल, शहरबजार र ग्रामीण भेगमा पनि उत्तिकै रहेको छ । अन्य तरकारी भन्दा खरबुजाको मूल्य राम्रो छ ।

फल पाके पछि तुरुन्तै बेच्नुपर्ने बाध्यता नभई केही दिनसम्म भण्डारण गर्न सक्ने क्षमता भएको पनि खरबुजा खेती हो । बलौटे जमिनमा हुने खरबुजाले राम्ररी आमदानी गर्न सकिन्छ । विदेश जाँदा लाग्ने खर्चले पनि बगरमा होस वा आफ्नै खेतबारीमा खरबुजा खेती गर्न सकिन्छ ।

कम्तीमा भारतीयले गर्ने यस्ता बगर खेतीको भ्रमण गराएर युवाहरूलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता देखिएको छ । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका अधिकांश भूभाग बगर जस्तै हो ।

स्थानीय सरकारको रूपमा रहेका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि पनि कम छैनन्, उनी थप्छन्, नेपाली युवाहरूलाई काम दिनु भन्दा ती जनप्रतिनिधि आफ्नै यान्त्रिक व्यवस्थापनमा लाग्ने र योजनाहरू कोटेसन, ठेक्का पार्ने र कमाउने धुनमा मात्रै छन् ।

यान्त्रीकरणले एकातिर स्थानीय स्तरको रोजगारीमा नकारात्मक असर पारिरहेको छ, अर्को तिर यान्त्रीकरणमा खर्चिने रकम, उपकरण र इन्धन खरिद मार्फत ति पैसो विदेश नै जाने गरेको छ ।

अर्को तिर गाउँ ठाउँमा रोजगारीको अवसर नपाउने युवा आफ्नो पुर्ख्यौली सम्पत्ति बेचबिखन र बन्धकी राखेर विदेश जानुपर्ने बाध्यता सृजना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?