© 2026
गुल्मी । पछिल्लो समयमा गुल्मीमा चराका नयाँ प्रजातिहरू फेला पर्दै गएका छन् । कफीको जिल्ला भनेर चिनिने गुल्मी आजभोलि नेपालमा चराहरूको जिल्ला भनेर चिनिन थालेको छ । पछिल्लो गणना अनुसार गुल्मीमा फेला परेका चरा प्रजातिहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ ।
पछिल्लो पटक जिल्लामा ३० प्रजातिका नयाँ चराहरू थपिएसँगै जिल्लामा हालसम्म फेला परेका चरा प्रजातिको सङ्ख्या ३ सय ५५ पुगेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।
सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चराहरू फेला परेको बताएको हो । गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्भे क्षणको क्रममा उक्त चराहरू फेला परेको नेपाल पन्क्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले बताए ।
चरा सर्भे क्षणको क्रममा रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पछिल्लो पटक नयाँ ३० प्रजातिका चराहरू फेला परेको परियोजना अधिकृत भट्टराईले बताएका हुन् । यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुइ पटक चरा सर्वेक्षण गरिंदैं आएको थियो ।
पछिल्लो पटक जिल्लाको थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा चरा सर्वेक्षण गरिएको हो । सर्भे क्षणको क्रममा उक्त क्षेत्रमा ठूलो संख्यामा नयाँ चराका प्रजातिहरू फेला परेको सङ्घले जनाएको छ ।
नयाँ फेला परेका चराहरूमा तिलहरी, मोटो ठुँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरा लगायतका रहेको परियोजना अधिकृत भट्टराईले बताए ।
गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराहरूको मुख्य वासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चराहरू मध्ये गुल्मीमा ६ प्रजातिका चराहरू फेला परेका हुन् ।
दुर्लभ प्रजातिका चराहरू मध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल रहेका छन् । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।
चराप्रेमी तथा अनुसन्धानकर्ताहरू जिल्लामा आउन थालेसँगै स्थानीय होटेल, होमस्टे, गाइड तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ । पछिल्लो समय विश्वभर ‘बर्ड वाचिङ’ पर्यटन लोकप्रिय बन्दै गएकाले गुल्मीलाई पनि अन्तर्राष्ट्रिय चरा पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन् ।
स्थानीय समुदायले पछिल्लो समय वन संरक्षण, पानीका मुहान जोगाउने तथा अवैध सिकार नियन्त्रणमा सक्रिय सहभागिता जनाउन थालेपछि चराहरूको सङ्ख्या बढ्न सहयोग पुगेको संरक्षणकर्मीहरू बताउँछन् ।
नेपालमा पाइने ९०३ प्रजातिका चराहरू मध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चराहरू रहेकोे परियोजना अधिकृत भट्टराईले जानकारी दिए । नेपाल पक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेकोे पक्षी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति, मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चराहरू फेला परेका छन् ।
विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षण गर्नुपर्ने जनाइएको छ । अति सङ्कटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्नु पर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाहरूले जोड दिँदै आएका छन् ।
नेपाल पक्षी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम मार्फत जिल्लामा दुर्लभ चराहरूको खोजी गर्दै तिनीहरूको संरक्षणको लागि जनचेतनामूलक कामहरू गर्दै आइरहेको छ ।
सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीय वासीहरूलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै जीविकोपार्जनमा समेत टेवा पु¥याउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
गुल्मी जिल्लामा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थीले बताए । नगर प्रमुख पन्थीले यसबाट जिल्लामा पर्यटन क्षेत्रको विकाससँगै उनीहरूको जीविकोपार्जनमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
जिल्लामा दुर्लभ प्रजातिका चराहरूको संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रूपमा वासस्थानको विनास रहेको छ । त्यसका अतिरिक्त पानीका मुहानहरू सुक्दै गएका कारण पानीको अभाव, बढ्दो वन–डढेलो, चराहरूको अवैध सिकार, जङ्गल वरिपरिका क्षेत्र तथा बस्तीहरूमा जनचेतनाको अभाव जस्ता कारणहरू रहेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालय गुल्मीसँग समन्वय र सहकार्य गर्दै स्थानीय स्तरमा चरा संरक्षणको क्षेत्रमा विभिन्न तालिम प्रदान गर्नुका साथै उनीहरूको जीविकोपार्जनका लागि विभिन्न आयमूलक कामहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।
गुल्मीलाई चरा पर्यटनको विश्व मानचित्रमा स्थापित गर्न अब स्थानीय सरकार र सरोकारवाला निकायले एकीकृत योजना ल्याउनु आवश्यक देखिएको छ ।
चराहरूको सङ्ख्या बढ्नु सुखद पक्ष भए तापनि अव्यवस्थित भौतिक पूर्वाधार निर्माण र वन अतिक्रमणले उनीहरूको जैविक मार्गमा असर पु¥याउन सक्ने भन्दै सरोकारवालाहरूले विकास र संरक्षण सँगसँगै लैजान सके मात्र यो दिगो हुने बताएका छन् ।