Butwal Today

चक्रवात ‘अर्नब’को प्रभाव : यी राजमार्गहरुमा पहिरोको उच्च जोखिम

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा देशका प्रमुख राजमार्गमा पहिरो, बाढी तथा सडक कटानको जोखिम बढ्ने चेतावनी दिइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुँदा राजमार्गमा पहिरोको जोखिम बढ्न सक्ने जनाएको हो ।

केन्द्रका अनुसार चक्रवातको प्रभावले पहाडी तथा भिरालो भूभागमा रहेका सडकखण्डमा पहिरो जाने, ढुङ्गा खस्ने र सडक भासिने सम्भावना छ । नदी किनारका सडकखण्डमा पानीको सतह बढ्दा बाढी तथा कटानको जोखिमसमेत बढ्न सक्नेछ ।

पहिरो र बाढीका कारण सडक अवरुद्ध भएमा यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुको ढुवानीमा असर पर्न सक्ने केन्द्रले जनाएको छ । त्यस्तै, साना तथा ठूला खहरे खोलामा पानीको बहाव बढ्दा र कल्भर्टमा क्षति पुग्दा सडक आवागमन प्रभावित हुन सक्ने जोखिम औँल्याइएको छ ।

जोखिममा पर्न सक्ने प्रमुख सडकखण्डमा नारायणगढ–मुग्लिन सडक (त्रिशूली तथा नारायणी नदी किनार), कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र रहेका छन् ।

यसैगरी, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडकखण्डमा पनि सतर्कता अपनाउनुपर्ने केन्द्रले जनाएको छ । विगतमा पहिरोको जोखिम देखिएका तथा नदी किनारमा रहेका अन्य राजमार्गमा समेत उच्च सतर्कता आवश्यक रहेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?