© 2026
बुटवल । लुम्बिनी प्रदेश सरकारको स्थायित्व र मुख्यमन्त्री फेरबदलको चर्चाका विषयमा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले चासो व्यक्त गर्दै वर्तमान सरकारलाई निरन्तरता दिन सुझाव दिएका छन्। बुधबार लुम्बिनी प्रदेश आएका पुनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशलाई बलियो र स्थायित्व दिने गरि आगाडि बढ्दा जनबिश्वास कायम हुने बताएका छन ।
पुनले नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको सत्ता गठबन्धनको उद्देश्य प्रदेशसभाको संरक्षण, प्रदेश सरकारमा स्थायित्व कायम गर्नु तथा जनताका गुनासा र समस्यालाई सम्बोधन गर्नु रहेको स्मरण गराएका छन्। उनले वर्तमान अवस्थामा मुख्यमन्त्री फेरबदल गर्दा जनतामा नकरात्मक प्रभाव पर्ने र गलत सन्देश जाने र राजनीतिक अस्थिरता बढ्न सक्ने धारणा राख्दै सकेसम्म यस्तो कदम नचाल्न आग्रह गरेका छन्।
नेकपा एमाले मुख्यमन्त्री फेरबदलको प्रक्रियामा अघि बढे नेकपा सरकारमा सहभागी हुन नसक्ने अबस्था सृजना हुने बताए। राजनीतिक अस्थिरता सिर्जना गरेर जनताको मतको अवमूल्यन गर्ने गतिविधिमा आफ्नो पार्टी सहभागी नहुने उनले स्पष्ट पारेका छन्। पुनले वर्तमान सरकारलाई नै निरन्तरता दिँदै प्रदेशमा विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन्। जनताका समस्या समाधान र मानव संशाधन विकास र विकास निर्माणका कामलाई प्रभावकारी बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने उनको धारणा छ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चलिरहेका बेला पुनको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र सहकार्यलाई निरन्तरता दिन आग्रह समेत गरेका छन । नेकपा एमालेका नेता लिला गिरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। यस अघि पटकपटक मुख्यमन्त्री बनिरहेका गिरिले फेरि दाबि गरेका छन । एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषय चुलिरहेका बेला नेकपाका नेता पुनले मुख्यमन्त्री परिवर्तन तिर नलाग्न र छोटो समयमा जनअपेक्षित काम गर्न अनुरोध गरेका छन ।