Butwal Today

नेपालमा तीव्र हावाहुरीको सम्भावना न्यून : मौसम पूर्वानुमान महाशाखा

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएपछि नेपालमा तीव्र हावाहुरी चल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात कमजोर भएर अहिले बलियो न्यून चापीय क्षेत्रका रूपमा रहेको महाशाखाले जनाएको हो ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तर, चक्रवात शक्तिशाली अवस्थामा रहँदा चल्न सक्ने तीव्र हावाहुरीको जोखिम भने नरहेको उनले बताइन् ।

अन्य क्षेत्रको तुलनामा पूर्वी नेपालमा केही भारी वर्षा हुन सक्ने उनको भनाइ छ । चक्रवातको प्रभाव मुख्यतः बिहीबार र शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान गरिएको उनले जानकारी दिइन् ।

पोखरेलका अनुसार बिहीबार बेलुकादेखि हिमपात सुरु हुने सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा र यात्रुले विशेष सतर्कता अपनाउनुपर्नेछ ।

उनले जोखिमपूर्ण क्षेत्र, पहिरो गइरहने स्थान तथा कच्ची सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिन् । यद्यपि, राम्रा राजमार्गमा यात्रा गर्न डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?