© 2026
बुटवल । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला भए पनि लामो समयदेखि फरार रहँदै आएका पाँच जना प्रतिवादीहरू रूपन्देहीमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देहीका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई बुधबारै सम्मानित रूपन्देही जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मर्यादपुरका राजेश यादव रहेका छन्, जसलाई डाँका चोरी मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै, अभद्र व्यवहार मुद्दामा १० हजार रूपैयाँ जरिवाना भएका कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मदनपुरका राहुल लोनिया पनि पक्राउ परेका छन् ।
चेक अनादर मुद्दामा एक हजार रूपैयाँ जरिवाना भएका कोटहीमाई गाउँपालिका वडा नम्बर ५ देवानबक्सपुरका रामकिसुन पाल पक्राउ परेका छन् भने बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना तोकिएकी कोटहीमाई गाउँपालिका वडा नम्बर ४ तुनिहवाकी समिना खातुन पनि पक्राउ परेकी छिन् ।
यसैगरी, चेक अनादर मुद्दामा एक हजार रूपैयाँ जरिवाना तोकिएका ओमसतिया गाउँपालिका वडा नम्बर २ का नरेन्द्र गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन र कानुनीराज स्थापना गर्न फरार प्रतिवादीहरूको खोजी अभियानलाई जिल्ला प्रहरी कार्यालयले थप कडाइका साथ निरन्तरता दिँदै आएको छ ।