Butwal Today

शंकरनगर सामुदायिक वनमा निर्वाचन प्रक्रिया सुरु

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रूपन्देहीको दशौं अधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचन प्रक्रिया शुरु भएको छ । समूहको विधानमा भएको ब्यवस्था अनुसार बुधबार १४९ जना परिषद सदस्य (.पार्षद) का लागि उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको छ ।

५८४.६० हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनको सेवा क्षेत्र भित्र तिलोत्तमा नगरपालिकाका वडा नं. १,२,३ र ४ अन्तर्गत ९ वटा ब्लक छन् भने करिव १६०० उपभोक्ता सदस्यहरू रहेका छन् । यिनै उपभोक्ता सदस्यहरू मध्येबाट पहिलो चरणमा १४९ जना परिषद सदस्य निर्वाचित हुनेछन् ।

परिषद सदस्यहरूको निर्वाचन पश्चात दोस्रो चरणमा प्रत्येक ब्लकबाट एक एक जना संयोजकको निर्वाचन हुनेछ । ब्लक संयोजकका लागि सम्वन्धित ब्लकका निर्वाचित परिषद सदस्यहरूले मतदान गर्नेछन् । निर्वाचित ब्लक संयोजक सामुदायिक वनको कार्यसमिति सदस्य हुनेछ ।

ब्लक संयोजकको निर्वाचन पश्चात तेस्रो चरणमा निर्वाचित संयोजकको अध्यक्षतामा प्रत्येक ब्लकका परिषद सदस्यहरूको बैठक बसी ९ वटा ब्लकबाट ४९ जना परिषद सदस्यहरूको मनोनयन गर्ने वनको विधानमा ब्यवस्था रहेको छ । प्रत्यक्ष निर्वाचनमा सहभागी भई पराजित भएको उपभोक्ता समूह सदस्यलाई मनोनित प्रक्रियामा सहभागी हुन विधानले रोकेको छ ।

सामुदायिक वनको विधानमा उपभोक्ता परिषदमा महिला सदस्यहरूको प्रतिनिधित्व ५० प्रतिशत अनिवार्य हुने ब्यवस्था गरिएको र परिषद सदस्यहरूको प्रत्यक्ष निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व ५० प्रतिशत भन्दा कम भएमा मनोनित प्रक्रियाबाट उक्त संख्या पुरा गर्न मनोनयनको ब्यवस्था गरिएको हो । विधान अनुसार सामुदायि वनमा निर्वाचित परिषद सदस्य १४९, मनोनित परिषद सदस्य ४९ तथा निवर्तमान अध्यक्ष पदेन परिषद सदस्य गरी १९९ जनाको उपभोक्ता परिषद हुनेछ ।
१९९ जनाको उपभोक्ता परिषद गठन पश्चात अन्तिम चरणमा परिषद सदस्यहरू मध्येबाट सामुदायिक बनको पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा समिति संयोजक र दुई जना सदस्यको निर्वाचन हुनेछ । पदाधिकारीको निर्वाचन गर्दा कुनै दुई पदमा महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?