© 2026
नवलपरासी ।
वनलाई काठ, दाउरा र घाँसको स्रोतका रूपमा मात्र हेर्ने परम्परागत सोच बदल्दै पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी सामुदायिक वनले पर्यापर्यटनको दायरा विस्तार गर्न थालेको छ । सिमसार, जलविहार, मत्स्यपालन, वन्यजन्तु अवलोकन र हिन्दु तथा बौद्ध धार्मिक सम्पदालाई पर्यटनसँग जोडेको वनले अब चुरेका चुचुरासम्म पदयात्रा सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।
जिल्लामै सामुदायिक वनमार्फत पर्यापर्यटनको अवधारणा अघि बढाएको चिसापानीले वन संरक्षणसँगै स्थानीय रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मनोरञ्जनात्मक गतिविधिलाई एकै ठाउँमा समेट्ने प्रयासले यस क्षेत्रलाई पारिवारिक घुमफिरदेखि प्रकृति अवलोकनसम्मका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा अघि बढाएको छ ।
सामुदायिक वनभित्र व्यवस्थापन गरिएको सिमसार क्षेत्रमा मत्स्यपालन र डुङ्गाबाट जलविहार गर्ने सुविधा छ । पोखरीमा माछा मार्ने गतिविधि, वनविहार तथा बालबालिकाका लागि वन्यजन्तु अवलोकन गर्न सकिने मिनी चिडियाखानाले पनि पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । वन क्षेत्रमा मृगलगायतका वन्यजन्तु राखिएका छन्, जसले बालबालिकालाई वन्यजन्तु र प्राकृतिक वातावरणबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गर्छ ।
सामुदायिक वन अभियन्ता कमल परियारले वनलाई काठदाउराको स्रोतमा मात्र सीमित नराखी संरक्षणसँगै दिगो आयआर्जनको माध्यम बनाउनुपर्ने बताउँछन् । उनका अनुसार प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई एकीकृत गर्न सके स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै वन संरक्षणमा समुदायको सहभागिता पनि बढाउन सकिन्छ ।
चिसापानीको पर्यापर्यटन क्षेत्रको सञ्चालन तथा व्यवस्थापन सप्तरङ्गी कृषि तथा पशुपालन फर्म प्रालिले गर्दै आएको छ । पर्यटकको सुविधाका लागि सप्तरङ्गी क्याफेटेरिया तथा मनोरञ्जनात्मक गतिविधिसहितको फन पार्कसमेत सञ्चालनमा ल्याइएको परियारले जानकारी दिए ।
प्राकृतिक र सांस्कृतिक पर्यटनलाई थप विस्तार गर्न चिसापानी सामुदायिक वनले चुरे क्षेत्रमा पदयात्राको सम्भाव्यता अध्ययन तथा पदमार्ग पहिचानको काम अघि बढाएको छ । उपयुक्त पदमार्ग विकास गर्न सके वन क्षेत्रको पर्यटनलाई चुरेका अग्ला स्थानसम्म विस्तार गर्न सकिने परियारको भनाइ छ ।
“प्रकृति, संस्कृति र साहसिक गतिविधिलाई एकै ठाउँमा जोड्ने हाम्रो योजना छ,” परियारले भने, “निकट भविष्यमै चुरेका चुचुरासम्म पदयात्रा गराउने उद्देश्यले सम्भाव्यता अध्ययन र पदमार्ग पहिचान गरिरहेका छौँ ।”
उनका अनुसार चुरेका उपयुक्त स्थानबाट महाभारत पर्वतशृङ्खला तथा हिमालयको दृश्यावलोकन गर्न सकिने सम्भावना छ । विशेषगरी भारतको बिहार र उत्तर प्रदेशबाट आउने पर्यटकलाई लक्षित गरी प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र साहसिक गतिविधिको संयोजनसहितको पर्यटकीय अनुभव प्रदान गर्ने योजना बनाइएको उनले बताए ।
यद्यपि, चुरे क्षेत्रमा पदयात्रा सञ्चालन गर्दा संवेदनशील पारिस्थितिक प्रणाली, वन्यजन्तुको बासस्थान, पर्यटकको सुरक्षा र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। वातावरणमा नकारात्मक असर नपर्ने गरी पदमार्ग विकास र पर्यटकीय गतिविधिको व्यवस्थापन गर्न सके मात्रै पर्यापर्यटन दीर्घकालीन बन्न सक्छ ।
चिसापानी सामुदायिक वनभित्र रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीका मठमन्दिर र चैत्यले यस क्षेत्रको धार्मिक पर्यटनको सम्भावनासमेत बढाएका छन् । प्राकृतिक वातावरणमा घुमफिरसँगै धार्मिक स्थलको दर्शन गर्न सकिने भएकाले फरक रुचिका पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ ।
वनको शान्त वातावरणलाई उपयोग गर्दै ध्यान तथा आध्यात्मिक अभ्यासका लागि छुट्टै क्षेत्र व्यवस्थापन गर्ने तयारी भइरहेको परियारले बताए । स्थानीय सांस्कृतिक समूहलाई वन क्षेत्रमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न प्रोत्साहित गरिँदै आएको पनि उनले जानकारी दिए । यसबाट पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने बर्दघाटस्थित चिसापानीले यात्रुलाई केही समय रोकिएर प्राकृतिक वातावरणमा रमाउने अवसर दिन सक्छ । लुम्बिनीको बौद्ध सम्पदा अवलोकन गर्न आउने पर्यटकलाई चिसापानीको सिमसार, वन्यजन्तु, धार्मिक सम्पदा र चुरेको प्राकृतिक सौन्दर्यसँग जोड्न सके यस क्षेत्रको पर्यटकीय पहिचान थप विस्तार गर्न सकिने परियारको विश्वास छ । उनका अनुसार चिसापानीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । पर्यापर्यटन विकासमा लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालयले समेत सहयोग गर्दै आएका छन् ।
प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने व्यवस्था गर्नु चिसापानीका लागि मुख्य चुनौती हुनेछ । पर्यटकीय पूर्वाधार, प्रचारप्रसार, यातायात पहुँच र अन्य गन्तव्यसँगको समन्वयमा ध्यान दिन सके सामुदायिक वनको आम्दानी बढाउनुका साथै स्थानीय रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । सरकारी निकाय, सामुदायिक वन समूह र निजी क्षेत्रबिचको सहकार्यले चिसापानीलाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको संयुक्त गन्तव्यका रूपमा विकास गर्ने आधार तयार गर्न सक्छ ।