© 2026
सिद्धार्थनगर ।
व्यवस्थित यातायातको केन्द्र बन्ने अपेक्षा सहित निर्माण गरिएको सिद्धार्थ बसपार्क अहिले आफैँ अस्तव्यस्तताको परिचय बनेको छ । बसपार्कभित्र यात्रुका लागि बनाइएको पार्क जङ्गलमा परिणत भएको छ, शौचालय र खानेपानीको अवस्था कमजोर छ भने वर्षायाममा सडकमा पानी जम्ने र धुलो, खाल्डाखुल्डीले सवारीसाधन सञ्चालनमै समस्या हुने गरेको छ ।
यो बसपार्कबाट दैनिक करिब ३सय सवारीसाधन सञ्चालन हुने भए पनि यसको व्यवस्थापन भने प्रभावकारी हुन सकेको छैन । करोडौँ रूपैयाँ लगानीमा निर्माण भएको बसपार्कको अवस्था सुधारका लागि पर्याप्त ध्यान नदिइएको स्थानीय तथा यातायात व्यवसायीको गुनासो छ ।
बसपार्कबाट नगरपालिकाले दैनिक करिब २० हजार रूपैयाँ राजस्व उठाउने गरेको छ तर नियमित आम्दानी भइरहँदा पनि बसपार्कको पूर्वाधार, सरसफाइ र व्यवस्थापनमा प्रश्न उठेको छ ।
बसपार्कको अवस्था यतिमै सीमित छैन । यात्रु र सवारीसाधनको सुरक्षामा खटिने प्रहरीका लागि बनाइएको प्रहरी बिटसमेत निकै साँघुरो रहेको र पानी पर्दा छानोबाट पानी चुहिने गरेको बताइएको छ । यात्रु तथा व्यवसायीका लागि आवश्यक आधारभूत संरचना नै कमजोर रहेको अवस्थामा प्रहरी बिटको अवस्थाले पनि बसपार्कको समग्र व्यवस्थापनप्रतिको बेवास्ता झल्काउने स्थानीयको भनाइ छ ।
यात्रीहरूलाई शीतल छाया र आराम दिने उद्देश्यले बनाइएको पार्क अहिले घाँस र रूख नकाटिएर जङ्गलमा परिणत भएको छ । पार्कका भित्र छिर्ने ठाउँ शौचलाय जस्तै बनेका छन्, पिउने पानी चुहिने छन् र शौचालयहरू दुर्गन्धित एवं ढोका फुटेको अवस्थामा पुगेका छन् । नालीका पेटीहरू भत्किएका छन्, बसपार्कको हरेक कुनाकाप्चामा फोहोरको थुप्रो भेटिन्छन् भने बसपार्कको पछाडिपट्टिको भागलाई नगरपालिकाले नै ’डम्पिङ साइट’ बनाएर फोहोर फाल्ने थलो समेत बनाएको थियो ।
भैरहवाका स्थानीय तथा सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बसपार्क निर्माण भएको लामो समय बितिसक्दा पनि अपेक्षाअनुसार सञ्चालन हुन नसकेको बताए । ज्ञवालीका अनुसार तत्कालीन समयमा एसियाली विकास बैंक (एडीबी) को करोडौँ रूपैयाँ लोन सहयोग समेत लिएर निर्माण गरिएको यो बसपार्क सञ्चालनमा भने स्थानीय निकाय पूर्ण रूपमा चुकेको छ ।
“त्यतिखेर एसियाली विकास बैंकबाट ऋण लिएर निर्माण भएको यो बसपार्कबाट नगरबासीले ठूलो आशा राखेका थिए, तर अवस्था जस्ताको तस्तै रह्यो,“ ज्ञवालीले भने, “वर्षमा ५० देखि ७० लाख रूपैयाँसम्म बसपार्कबाट ठेक्का र विभिन्न शीर्षकमा राजस्व उठ्छ । बसपार्क सुधारकै लागि भनेर नगरपालिकाको छुट्टै बजेट पनि हुन्छ, तर त्यो पैसा कहाँ जान्छ ? कुनै र हिसाब–किताब छैन ।”
यातायात व्यवसायीहरू पनि बसपार्कको यो नाजुक अवस्थाबाट हैरान बनेका छन् । नियमित रूपमा शुल्क बुझाउँदा पनि न्यूनतम सुविधा नपाएको उनीहरूको गुनासो छ । सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जिव रोक्काले नगरपालिकाको चरम लापरवाहीका कारण बसपार्क ’पैसा उठाउने माध्यम’ मात्र बनेको बताए । “वर्षाको समयमा बसपार्कभित्र छि¥यो भने पुरै पानी जमेर दह बन्छ । हामीले पैसा तिरेर पनि गाडी जोगाउन बाहिरै राख्नुपर्ने बाध्यता छ,“ रोक्काले आक्रोश व्यक्त गरे ।
व्यवसायी रोक्काका अनुसार सहरलाई बाइपास गरेर सोझै नाका (बेलहिया) सम्म बसहरू जाने परिपाटीले सीमा क्षेत्रमा सुरक्षा चुनौती समेत थपेको छ । “नेपालको कुनै पनि नाकामा सोझै बोर्डरमै गाडी लैजाने नियम छैन, भैरहवामा मात्र यो भइरहेको छ । सोझै बोर्डरसम्म गाडी जाँदा लागुऔषध ओसारपसार र भन्सार छलीका अवैध कामहरूमा गाडीको दुरूपयोग भइरहेको छ,” उनले भने ।
बसपार्कभित्र दैनिक २० देखि २५ हजार रूपैयाँसम्म संकलन हुने भए पनि नगरपालिकाभित्रको आन्तरिक चुहावट र स्वार्थका कारण सुधार हुन नसकेको रोक्काको दाबी छ । उनले थपे, “नेपालगन्ज वा बुटवलतिर जस्तै यदि नगरपालिकाले सञ्चालन गर्न सक्दैन भने व्यवसायीहरूलाई नै जिम्मा देओस्, हामी आफ्नै खर्चमा यसलाई सफा, सुन्दर र व्यवस्थित बनाएर देखाउँछौँ ।”
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाले बसपार्कको पुनर्ताजगी र सुधारका लागि अग्रसरताका लागि काम अगाडि बढाएको बताए । बसपार्कको विद्यमान दयनीय स्थितिलाई स्वीकार गर्दै यसलाई छिट्टै पर्यटकीय स्तरको व्यवस्थित बसपार्कका रूपमा ढाल्ने प्रतिबद्धता जनाएका छन् ।
खाँका अनुसार बसपार्कभित्रको फोहोर व्यवस्थापन, खानेपानी र शौचालयको मर्मत सम्भारको काम तत्काल अघि बढाइनेछ । साथै अगाडि रहेको खाली ठाउँमा फुलपत्ती र बोटबिरुवा लगाएर सुन्दर हरियाली (ग्रिनरी) बनाइनेछ ।
सहरका विभिन्न स्थानमा छरिएर रहेका र सडकमै पार्किङ गरिने बसहरूलाई कडाइका साथ बसपार्कभित्रै ल्याउने र जिरो पोइन्ट कार्यान्वयन गर्ने तयारी भइरहेको उनले बताए । लुम्बिनी रोड लगायतका क्षेत्रमा रहेका अवैध कबाड र अतिक्रमण हटाउन नगरपालिकाले अन्तिम चेतावनीयुक्त सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाउनेसमेत नगरप्रमुख खाँले स्पष्ट पारेका छन् ।