© 2026
सल्यान । सल्यानमा जडीबुटी खेती क्रमशः विस्तार हुँदै गएको पाइएको छ । जिल्लाका किसानहरूले परम्परागत जडीबुटी खेतीलाई विस्तार गर्दै लगेका छन् भने बहुमूल्य वनस्पतिप्रति चासो बढ्दै गएको र खेर गइरहेका जमिनको उपयोग गरी जडीबुटी खेती विस्तार गर्नुपर्ने आवश्यकता महसुस हुन थालेको वनस्पति अनुसन्धान केन्द्र, मूल पानी सल्यानले जनाएको छ ।
यसै सन्दर्भमा किसानहरूलाई जडीबुटी क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यसहित कपुरकोटमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जडीबुटी खेती, सङ्कलन, भण्डारण, प्रशोधन तथा बजारीकरणलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले अगुवा कृषकहरूका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा तथा वनस्पति अनुसन्धान केन्द्र सल्यानको सहजीकरण र प्रमुख प्रशिक्षणमा शुक्रबार र शनिबार मूल पानी वनस्पति उद्यानमा अभिमुखीकरण गरिएको हो ।
कपुरकोट गाउँपालिकाका ६ वटै वडाबाट सहभागी भएका अगुवा कृषकहरूको सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा जडीबुटी खेतीको वैज्ञानिक विधि, सङ्कलनको सही तरिका, गुणस्तरीय भण्डारण, प्रशोधन प्रक्रिया तथा बजारीकरणका आधुनिक अभ्यासबारे सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठक र डा. सम्झना जिसीले किसानहरूलाई जडीबुटीको पहिचान, खेती प्रविधि, गुणस्तर नियन्त्रण तथा बजार सम्भावनाबारे विस्तृत प्रशिक्षण दिएका थिए ।
कार्यक्रम समापन अवसरमा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जडीबुटी खेतीलाई स्थानीय आयआर्जन र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
तालिम अन्तर्गत सहभागी कृषकहरूलाई मूल पानी वनस्पति उद्यानमा फिल्ड भिजिट समेत गराइएको थियो । फिल्ड ब्रिफिङ वरिष्ठ कविराज पुष्पा आचार्य शर्माले गरेकी थिइन् ।
वनस्पति अनुसन्धान केन्द्रका अनुसार सल्यान लगायतका जिल्लाको माटो र जलवायुमा सुहाउँदो टिमुर, तेजपात, रिठा लगायतका वनस्पतिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अन्य बहुमूल्य जडीबुटीका बिरुवालाई पनि साना साना प्लट बनाएर परीक्षण गर्दै विस्तार गरिने काम भइरहेको छ ।
डा. पाठकका अनुसार परम्परागत जडीबुटीसँगै नयाँ सम्भावनायुक्त वनस्पतिहरूको परीक्षण र विस्तारमार्फत किसानलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउने लक्ष्य लिइएको छ । यहाँको माटोमा सुहाउँदो प्रजाति पहिचान गरी खेती विस्तारमा ध्यान दिइएको उनले जनाए ।