© 2026
बर्दिया ।
१६अर्ब ४३ करोडमा सम्पन्न हुने बबई सिचाई आयोजना समयमा सम्पन्न नहुँदा ३३ अर्ब १९ करोड लगानी पुगेको छ । वि.स. २०२४ सालमा अध्ययन सुरु गरिएको २०८२ साल सम्म पनि सम्पन्न नहुँदा लगानी दोब्बरले बढेको हो ।
बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ बबई सिँचाइ आयोजनाअन्तर्गत विभिन्न क्रियाकलापहरू सञ्चालित छन् । यस क्षेत्रमा सिँचाइ प्रणालीको विकासका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाको संलग्नतामा वि.सं. २०२४ साल देखि अध्ययन थालनी गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएका यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदीभन्दा पूर्वमा करिब १९ हजार हेक्टर तथा पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइ योग्यभनि निर्धारण गरिएको थियो ।
प्रथम चरणमा पूर्व तर्फको करिब १३ हजार २ सय ४० हेक्टरमा सिँचाइ प्रणालीको विकास गर्ने उद्देश्यले वि.सं. २०३५ सालमा सो क्षेत्रको सम्भाव्यता अध्ययन सम्पन्न गरियो । अन्तर्राष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा प्रथम चरणमा वि.सं. २०३८ साल देखि २०४० साल सम्म विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न भएको र सो डिजाइनमा बबई नदीमा साइफन निर्माण गरि पश्चिमतर्फ सिँचाइ प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो ।
विश्व बैङ्कको ऋण सहयोग प्राप्त नहुने भएपछि अन्ततः बर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य रहेको बबई सिँचाइ आयोजनाको निर्माण कार्य आ.व. २०४५/०४६ देखि नेपाल सरकारको आफ्नै श्रोतबाट प्राथमिकतामा राखी सुरु भएको थियो ।
यसको अर्को उद्देश्य जल श्रोतमा माथिल्लो तटीय अधिकार स्थापित गर्नु पनि रहेको थियो । यस आयोजनाको प्रथम चरण अन्तरगत राजमार्गमा पुल सहितको बाँध निर्माण कार्य रु. ६७.९५ करोडको लागतमा वि.सं. २०४९ सालमा सम्पन्न गरियो । साथै ५.५ किलोमिटर लामो मूल नहरको सुरुको खण्ड वि.सं. २०५० सालमा सम्पन्न गरी परम्परागत रूपमा किसानहरूद्वारा सञ्चालित बुढि कुलो, मझरा कुलो, राजकुलो र धधवार कुलोमागरि करिब ४ हजार हेक्टर क्षेत्रमा सिँचाइ पु¥याईदै आइएको थियो ।
त्यसपछि पनि आयोजनाको प्रथम चरणको बाँकी काम पूरा गर्न कुवेत कोषबाट ऋण सहयोग लिने सम्बन्धी कारबाही गरिएको भएता पनि ऋण सहयोग प्राप्त हुन सकेन । यसै परिप्रेक्ष्यमा राष्ट्रिय अभियानको रूपमा आयोजनाको मूल नहरको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखी वि.सं. २०५१ सालमा विशेष कार्य योजना सञ्चालन गरिएको थियो । जस अन्तरगत करिब २८ कि.मी.लामो बबई मूल नहरको बाँकी २२.५ कि.मी. सम्मको निर्माण कार्य वि.सं. २०५८ साल सम्ममा सम्पन्न गरिएको थियो ।
यस आयोजनाको दोस्रो चरणको कार्य सुरु गर्ने उद्देश्यले वि.सं. २०५८ सालमा परामर्शदाता इष्ट कनसल्ट प्रालि विएडी र नेपाल प्रालिद्धारा बबई नदीमा साइफन सहित अन्य संरचनाहरूको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न भएको थियो । बबई नदीमा साइफन, ढोढरी नहर तथा नहर संरचनाहरूको निर्माण कार्य आ.व. २०६७/०६८ मा सुरु भई आ.व.२०६९/७० मा करिब रु. ४४ करोड २४ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
साइफन तथा लिंक नहर र अन्य नहर संरचनाहरूको निर्माण सम्पन्न भई परम्परागत रूपमा कुलाहरूको संरचनाबाट ढोढरी तथा जम्ती बर्गदातर्फ पानी सञ्चालन भई सकेको अवस्थामा २०७१ साल श्रावण २८ देखि ३० सम्मको बाढीले उक्त संरचनाहरू क्षतिग्रस्त बनाएको थियो । पुनः सो साइफन २०७३ को असार सम्ममा पुनः निर्माण भई हाल नहर सञ्चालन भइरहेको छ ।
विगतको सर्भेक्षणवाट बर्दिया जिल्लाको करिब ४० हजार हेक्ट क्षेत्रफल सिँचाइ क्षेत्र भनिएता पनि सन् २०१२ मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले गरेको अध्ययनबाट कूल सिँचाइ क्षेत्रफल ३६ हजार (पूर्वमा करिब २१ हजार हेक्टर तथा पश्चिममा १५ हजार हेक्टर) कायम भएको छ ।
हाल १८ अर्ब ९६ करोड ३० लाख ४४ हजारको गुरुयोजना २०७८/०१/२१ मा स्वीकृत भई आ.व. २०८२/८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनामा आ.व. ०७९/८० सम्म रु. १२ अरब २८ करोड ९४ लाख खर्च भैसकेको बबई सिचाई आयोजनाका आयोजना निर्देशक गोपाल शर्माले बताए । उनले भने, “हामीले काम गर्न लागेको आयोजनाको प्रमुखहरू मूल नहर निर्माण पूर्व तर्फ ३४ किमी तथा पश्चिमतर्फ ४१ कि.मि. र जब्तीवर्गदा तर्फ १६ गरी (जम्मा ९१ कि.मि. ) निर्माण गर्नु पर्ने योजना रहेको छ ।”
शाखा/उपशाखा/प्रशाखा नहर निर्माण ३ सय १३ कि.मि. नहर संरचना निर्माण, पूर्वी मुलनहर भिआरवि ४१, डियुवि ३२, पियुपि २७ , सियुपि १४, एक्डक्ट २, स्काप ३, सिलवेए ५, पश्चिममुलनहर भिआरवि २४, डियुपि ३, पियुपि १, सियुपि ३, एक्डक्ट १ , स्काप ३ , सिलवेए २, सिञ्चित क्षेत्रको विकास र विस्तारस् सिञ्चित क्षेत्र वचावट कार्य ३२ कि.मि. र ड्रेनेज, सर्भिस रोड निर्माण लगायतका कार्यहरू मुख्य योजनाहरू रहेको प्रमुख शर्माले बताए ।
भेरी बबई बहुउद्देश्यीय डाइर्भशन आयोजनाको लक्ष्य भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउनका साथै ४८ मेगावाट उत्पादन गर्ने छ । सुरुङ निर्माण कार्यमा करिब ७ सय नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् । सिँचाई विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र इलेकट्रोन मेकानिकल लगायत काम सम्पन्न गर्न अहिलेको अवस्थामा ३३ अर्ब १९ करोड खर्च हुने अवस्था आएको छ ।
गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुँदा सरकारले दोब्बर लगानी गर्न बाध्य भएको छ । जसकारण रानीजमरा कुलरिया सिँचाई आयोजना, सुनकोसी मरिन गाइर्भसन, महाकाली सिँचाई आयोजना तेस्रो सबैमा दोब्बर लगानीमा सरकारले सम्पन्न गर्ने योजना अगाडी सारेको छ ।
समयमा आयोजनाहरू सम्पन्न नहुँदा जनताले तिरेको कर निरर्थक हुने देखिन्छ ।