Butwal Today

उत्तरपुस्तिका परीक्षणको लागि शिक्षकलाई अभिमुखीकरण

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २३ जेठ ।

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवल रुपन्देहीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुटवलको कालिका मानवज्ञान माविमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित तवरले परीक्षण सम्पन्न गर्ने र विद्यार्थीहरुको एक बर्ष सम्मको मेहनतको वास्तविक मूल्यांकन हुने गरी उत्तरपुस्तिका परीक्षण गर्नको लागि शिक्षकलाई सहजीकरण गर्नको लागि अभिमुखीकरणले सहयोग पुग्ने बताए ।

तिवारीले लामो समय अध्यापनमा संलग्न रही उत्तरपुस्तिका परीक्षणको अनुभव समेत भएका शिक्षकहरुलाई सहजकर्ताको रुपमा राखेर उत्तरपुस्तिका परीक्षण गराउने बताए । उनले बुटवलमा यो वर्ष ३० वटा बिषयको उत्तरपुस्तिका परीक्षण कार्यका लागि कम्तिमा तीन वर्ष अघि स्नातकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित बिषय कम्तीमा ३ बर्ष अध्यापन गरेका बिषयगत शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी प्रदान गरिने जानकारी दिए ।

कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले परीक्षण केन्द्रमा परीक्षकहरुलाई सहज वातावरणमा उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने वातावरण निर्माण हुने र आवश्यक सहयोग गर्न विद्यालय तत्पर रहेको जानकारी गराउदै विद्यार्थीहरुको वास्तविक मूल्यांकन हुनुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा बिषयगतरुपमा सहजीकरणका लागि १० वटा बिषयका विषयगत शिक्षकहरुलाई जिम्मेवारी प्रदान गरि प्रश्न पत्र र उत्तरकुन्जिकाको बारेमा छुट्टाछुट्टै रुपमा गहन छलफल गराइएको र नमुना उत्तरपुस्तिका परीक्षण कार्य समेत सम्पन्न गराइ परीक्षणमा देखापर्न सक्ने त्रुटिका बारेमा सम्पूर्ण परीक्षकहरुलाई जानकारी गराईएको थियो ।

उत्तरपुस्तिका परिक्षणमा एकरुपता र वस्तुगतता ल्याउन बारेमा प्राविधिक पक्षको बारेमा अनिवार्य नेपाली बिषयमा बिष्णु हरि ज्ञवाली र लेखनाथ पौडेल, अनिवार्य अङ्ग्रेजीमा चण्डी प्रसाद पाण्डे र युवराज पन्थी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बिषयमा लेखनाथ खनाल र गुणाखर भट्टराई, अर्थशास्त्रमा सुदर्शन रेग्मी, भौतिकशास्त्रमा कृष्ण प्रसाद अधिकारी, रसायनशास्त्रमा दिपक थापा, अनिवार्य गणितमा मानध्वज गिरी, शिक्षा र विकासमा गोबिन्द भुसाल तथा शैक्षणिक विधि बिषयमा सुमित्रा सापकोटा र जमुना पाण्डेले सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयहरुमा कक्षा १२ अध्यापनरत ३०० भन्दा बढी बिषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरुका बारेमा कार्यालय प्रमुख रमाकान्त तिवारीले अभिमुखीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रमको सन्चालन राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले गरेका थिए । शाखा अधिकृत भण्डारीले करिब ४०० जना योग्यता प्राप्त बिषयगत शिक्षकहरुको सहभागितामा मिति २०८२ जेठ २५ गतेदेखी उत्तरपुस्तिका परीक्षण कार्य प्रारम्भ हुने र १५ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राष्ट्रिय परीक्षा बोर्ड, बुटवलले राखेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?