© 2026
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोध झल्किएको टिप्पणी गरेका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भूमिकामा राजनीतिक प्रतिशोधको संकेत देखिएको बताए। उनले भने, “प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ। र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ।”
प्रचण्डले विगतमा ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयहरू आफ्नो क्षेत्राधिकारबाहिर पर्छन् भन्ने स्पष्ट पोजिसन लिएको स्मरण गरे। “त्यही अख्तियारले अहिले माधवजीले गरेको नीतिगत निर्णयमै मुद्दा हालेको छ। सायद अख्तियारले नै यसको जवाफ दिनुपर्छ,” उनले स्पष्ट पारे।
उनको भनाइ अनुसार, यदि यस्ता नीतिगत निर्णयमा पनि छानबिन हुने हो भने अब कोही पनि त्यसको दायराबाट बाहिर रहने अवस्था नहुने संकेत देखिन्छ।