© 2026
काठमाडौं ।
भारतको ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय निधनप्रति प्रतिनिधिसभामा गम्भीर चासो व्यक्त भएको छ। सोमबारको आकस्मिक समयमा सांसदहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेपछि सभामुख देवराज घिमिरेले सरकारलाई तत्काल पहल गर्न निर्देशन दिएका छन्।
सभामुख घिमिरेले घटनालाई राष्ट्रको संवेदनशील विषय भन्दै सरकारलाई भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन र पीडित परिवारलाई आवश्यक न्यायिक तथा मनोवैज्ञानिक सहयोग पुर्याउन आग्रह गरे।
उनले भने, “विदेशमा उज्यालो भविष्यको सपना बोकेर गएका विद्यार्थीहरूको रहस्यमय निधन राष्ट्रको जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो।” किट विश्वविद्यालयमै अध्ययनरत अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनपछि आएको यो दोस्रो मृत्यु हो, जसले थप शंका र चिन्ता निम्त्याएको छ।
सभामुखले यसै सन्दर्भमा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहल अवलम्बन गर्न पनि सरकारलाई अपिल गरेका छन्।