Butwal Today

सुकुम्बासीलाई पानी नदिएर सरकार मानवताविरोधी अपराध गरिरहेको छ: प्रभु साह

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौँका सुकुम्बासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रतिनिधि सभामा सरकारको कडा आलोचना गरेका छन्।

सोमबारको विशेष समयमा बोल्दै पूर्वमन्त्री साहले सुकुम्बासी नागरिकसँग कर र मत त लिन सक्ने सरकारले खानेपानीजस्तो मौलिक हकबाट वञ्चित गर्नु गम्भीर मानवताविरोधी अपराध भएको बताएका हुन्।

“खानेपानी त दुश्मनलाई पनि रोकिँदैन,” भन्दै उनले सरकारसँग प्रश्न गरे, “आफ्नै देशको नागरिकलाई यस्तो व्यवहार गर्नु कति जायज हो?” उनका अनुसार, सुकुम्बासीहरूको संवैधानिक अधिकार खोसिएको र यस्तो कदमले राज्यको चरित्रप्रति गम्भीर प्रश्न उठाएको छ।

सभामुखलाई आग्रह गर्दै साहले सुकुम्बासी बस्तीमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिन माग गरे। “यो सामान्य प्रशासनिक चूक होइन,” उनले जोड दिए, “यो सिधै मानवताको अपमान हो।”

यस्तै, उनले भारतको ओडिसास्थित किट विश्वविद्यालयमा निधन भएकी वीरगन्जकी छात्रा प्रिसा साहको विषयमा पनि संसद्मा ध्यानाकर्षण गराउँदै, सत्यतथ्य सार्वजनिक गर्न र अनुसन्धानको स्थिति स्पष्ट गर्न सरकारसँग माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?