Butwal Today

सामुदायिक वनद्वारा विपन्नलाई घर हस्तान्तरण

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

बर्दघाट, २२ वैशाख ।

चिसापानी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट–२ चिसापानीले स्थानीय गरिब तथा विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । आर्थिक रूपमा कमजोर एकल महिला चानमति हरिजनलाई सामुदायिक वनले घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

७० वर्षीया हरिजन २०३० सालदेखि बसोबास गर्दै आइरहेकी थिइन् । घर बनाउने आर्थिक क्षमता नभएकी उनलाई घर निर्माण संयोजक महेन्द्र काफ्लेले २ धुर जग्गा उपलब्ध गराएपछि समुदायको सहयोगमा २५ दिनको अवधिमा ६ लाख ८२ जहार दुई सय ८२ रुपैयाँको लागतमा टिनको छाना सहित पक्की घर निर्माण गरिएको हो ।

कार्यक्रम चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख वन अधिकृत जीवन पंगेनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

जिल्ला वन प्रमुख पंगेनीले सामुदायिक वनले समुदायमै प्रत्यक्ष प्रभाव पार्ने कार्यहरूमा जोड दिनुपर्ने उल्लेख गर्दै यस्तो सकारात्मक पहल सबै वन उपभोक्ता समूहका लागि उदाहरणीय रहेको बताए । मन्त्री कलवारले आफू वन मन्त्री बनेको ६ महिनामै यस्तो काम भएकोमा खुसी व्यक्त गर्दै सामुदायिक वनले स्वास्थ्य, शिक्षा, आवास लगायतका क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताए ।

अध्यक्ष गुरुङले विद्यालय, प्रहरी चौकी, अस्पताल जस्ता संस्थामा पनि फर्निचर तथा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । उनले चानमति हरिजनलाई घर हस्तान्तरण गर्नुका साथै घरमा विजुलीको मिटर जडानसमेत गरिएको जानकारी दिए । बर्षौदेखि घरबिहिन जस्तै बनेकी उनी घर पाएपछि दङ्ग छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?