© 2026
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि तीव्र आलोचना गर्दै यसलाई “औपचारिकता मात्रको कर्मकाण्ड” बनाएर प्रस्तुत गरिएको आरोप लगाएका छन्।
आगामी वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा धारणा राख्दै उनले भने, “मैले यो परम्परा तोड्न खोजेको थिएँ, तर सरकार फेरि पुरानै बाटोमा फर्कियो।”
उनका अनुसार, गत वर्ष अध्यादेशमार्फत बजेटभन्दा तीन महिना अगाडि नै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था गरिएको थियो, जसबाट सांसदहरूको सुझाव समयमै समेटिने र बजेट निर्माणमा पनि प्रत्यक्ष प्रभाव पर्ने व्यवस्था गरिएको थियो। तर, यस वर्ष त्यो प्रक्रिया खारेज गरिएकोप्रति उनले आपत्ति जनाए।
प्रचण्डले आरोप लगाए कि, “सरकारसँग संख्याको दम्भ छ, जे गरे पनि हुन्छ भन्ने निरङ्कुशतावादी सोचले गर्दा संसद्मा नीति तथा कार्यक्रममाथिको छलफललाई औपचारिकतामात्र बनाइयो।”
उनले सरकारलाई नीति तथा कार्यक्रमको शैली र प्रक्रिया सच्चाउन आग्रह गर्दै जनप्रतिनिधिका सुझावलाई महत्व दिन आह्वान गरे।