© 2026
बुटवल, २२ बैशाख ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जनतासँग सिधा सम्पर्क बिना बनाइने कानुनले जनअपेक्षा पुरा गर्न नसक्ने बताउँदै कानून निर्माण प्रक्रियामा जनताको सहभागिता आवश्यक रहेको धारणा राखेका छन् । बुटवलमा आईतबार सुरु भएको दुईदिने अभ्यास संसद कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनताको प्रतिनिधिमार्फत बन्ने कानुन नै जनताको कानुन हुने भन्दै त्यस प्रक्रियामा जनता स्वयंको आवाज प्रतिबिम्बित हुनु जरूरी रहेको बताए । उनका अनुसार विधायिकालाई कानुन बनाउने अधिकार जनताको चेतनासँगै विकास भएको अवधारणाका आधारमा दिइएको हो, र संसारभरि अभ्यास भइरहेको कानुनी प्रणालीहरू पनि यही अवधारणामा आधारित छन् ।
उनले भने, “संसद जनताको सार्वभौमसत्ता प्रयोग हुने थलो हो । यही संसदमार्फत प्रदेश सरकार बनाउने, नीति कार्यक्रम तयार पार्ने, कानुन निर्माण गर्ने र सरकारलाई निगरानी गर्ने काम हुन्छ ।” संसद र कानुन निर्माण प्रक्रियामा विद्यार्थीको पहुँच विस्तार गर्न यो कार्यक्रम आयोजना गरिएको उनले बताए । अभ्यास संसद कार्यक्रममा लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाड केसीले मुलुकको नेतृत्व र जिम्मेवारी अबको पुस्ताले लिनुपर्ने बताइन् । “पढेलेखेका युवा विदेश जानु हो भने देशको नेतृत्व कस्ले गर्छ ?“ भन्ने उनको प्रश्न थियो ।
उनले युवालाई राजनीतिमा आउन आह्वान गरिन् र देशमै सम्भावना खोज्नुपर्नेमा जोड दिइन् ।लुम्बिनी बौद्ध विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले कार्यक्रम सञ्चालनका लागि सिटि क्याम्पसलाई छनोट गरेकोमा प्रदेश सभालाई धन्यवाद दिए । अभ्यास संसद कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक कानुनी प्रक्रिया सिक्न सहयोग गर्नेमा उनको विश्वास थियो।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार दुई दिनसम्म चल्ने यस अभ्यास संसद कार्यक्रममार्फत विद्यार्थीले कानुन निर्माण कसरी हुन्छ भन्ने कुरा व्यवहारिक रूपमा अनुभव गर्नेछन् । यो कार्यक्रम कानुन शिक्षामा संलग्न विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले ल्याइएको हो ।कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल को सिटी क्याम्पस बुटवलका एक सयभन्दा बढी कानून विषय अध्ययनरत विद्यार्थी सहभागी छन् ।