© २०२३
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका चौधरीको निर्वाचनको तयारी के कसरी भैरहेको छ र आगामी चुनावी एजेण्डा के के छन् भन्न्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।
चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?
निर्वाचनको मिति नजिकिएसंगै जनताको घर दैलोमा जानेका गरेका छौ । अहिले जनताको घर आँगनमै छौ । उहाँँहरुका मनोविज्ञान, इच्छा चाहना नजिकबाट सेवा गर्ने, भेटघाट गर्ने काममा व्यस्त रहेका छौ । ०७४ मा संघीयता कार्यान्वयनको चरणमा प्रदेशसभामा मेरो प्रतिनिधित्व भयो । राजधानी निर्माणका क्रममा मैले खेलेको भूमिका राजनीतिक यात्राको उपलब्धिका रुपमा लिएको छु । देउखुरी क्षेत्रको विकासका बारेमा मलाई राम्रोसंग थाहा छ । काम गर्नका लागि जनताले मलाई बिजयी बनाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईंले सांसद भएर पछिल्लो पाँच वर्षमा के गर्नुभयो, जसका कारण दोहोरिन चाहनुहुन्छ ?
बड्का पथ सिंचाइ आयोजनाको काम ०६४÷०६५ बाटै सुरु भएको हो । म ०७४ मा निर्वाचित भैसकेपछि देउखुरीका सबैजसो वडाहरुमा खानेपानीको आयोजना सञ्चालनको अवस्था छ । यो आयोजना म स्वास्थ्य मन्त्री भैसकेपछि स्थायी राजधानीलाई केन्द्र बनाएर भालुवाङमा ५० शैयाको अस्पताल निार्माणको योजना ल्यायौँ अहिले ५० शैयाको अस्पताल सुरु भैसककेको छ ।
महेन्द्र राजमार्गमा धेरै दुर्घटना भएकाले प्रदेशकै सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गरिनु पर्छ भन्ने लाग्यो र अहिले लमहीमा यो सेन्टर बनिरहेको अवस्था छ । अहिले प्रादेशिक अस्पतालमा ओपिडी र जनरल सेवा निःशूल्क छ । यसलाई प्रदेश अन्तर्गतका जति पनि अस्पतालहरु छन् । ग्रामीण अल््ट्रासाउण्ड कार्यक्रम जन्म मृत्यु र मातृ मृत्यु दर कम गर्नका लागि घर घरमै गएर निःशुल्क रुपमा सुत्केरीहरुको चेकजाँच गर्ने, भिडियो एक्सरे गर्ने र बच्चाको अवस्था के छ भनेर पूर्व सतर्कता गराउने कार्यक्रम पनि भैरहेको छ । राजधानी कार्यान्वयनका लागि अझै राप्ती नदीमा ५ वटा पुल थपिने योजना छ । देउखुरीको विकासका लागि मैले गरेको मेहनतको मूल्यांकन मतदाताहरुले गरेका छन् । देउखुरी उपत्यकाको विकासका लागि गुरुयोजना निर्माण भएको छ, त्यो गुरुयोजनाको काम पूरा गर्नका लागि मेरो तत्परता रहने छ ती बाँकी रहेका काम पुरा गर्न म पुनः दोहरिन चाहन्छु ।
के के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?
२०७४ मा निर्वाचित भएपछि गर्न बाँकी रहेका काम पुरा गर्नलाई अगाडि आएका छौ । समग्र देउखुरी उपत्यकाको विकासका लागि काम गर्ने छौ । राप्ती तटवन्ध, सुकुम्वासीका समस्या, खानेपानी, सिंचाइ र बाटोघाटोलाई प्रथमिकतामा राखेका छौ । शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा प्रथमिकतामा राखेका छौ । स्थायी राजधानी कार्यान्वयनलाई विशेष रुपमा राखेका छौ । त्यसमा मेरो भूमिका महत्वपूर्ण हुने छ दंगाली जनताले मलाई विश्वास गरेर मतदान गर्नुहुन्छ भन्न्ो कुरामा ढुक्क रहेको छु ।