© 2026
वि.सं. २०७२ मा रूपन्देहीको सालझण्डीस्थित सात कोठे सानो भवनबाट सुरु भएको होटेल पौवा आज नेपाली आतिथ्य उद्योगको स्थापित ब्रान्ड बनेको छ । हाल देशभर १९ वटा शाखामार्फत सेवा दिइरहेको होटेल पौवाले नेपाली संस्कृति, स्थानीय उत्पादन, रैथाने परिकार र स्वदेशमै रोजगारी सिर्जनालाई आफ्नो व्यावसायिक दर्शन बनाएको छ । होटेल पौवाको १० वर्षे यात्रा, ब्रान्ड निर्माण, नेपालीपनको प्रवद्र्धन र आगामी योजनाबारे बुटवल टुडेकी अम्बिका परियारले होटल पौवाका ब्रान्ड प्रमुख विष्णु भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंशः
होटल पौवाको अवधारणा कसरी जन्मियो ?
‘पौवा’ नेपाली इतिहास र सभ्यतासँग जोडिएको शब्द हो । विगतमा यात्रुहरूलाई विश्राम र बासको सुविधा दिन निर्माण गरिने पाटी–पौवाबाट प्रेरणा लिएर होटेल पौवाको अवधारणा तयार गरिएको हो ।
२०७२ सालमा सात कोठे सानो होटेलबाट सुरु भएको यात्रा आज देशभर फैलिएको छ । हामीले सुरुदेखि नै नेपाली कला, संस्कृति, भाषा, खानपान र आतिथ्यलाई आधुनिक सेवा र सुविधासँग जोड्ने लक्ष्य राख्यौं । त्यसैले पौवा केवल होटेल होइन, नेपाली पहिचानको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा विकास भइरहेको छ ।
होटेल पौवाले नेपाली संस्कृति संरक्षणमा कसरी योगदान दिइरहेको छ ?
हामीले होटेलको नामदेखि भित्री सजावट, कलाकृति, कर्मचारीको प्रस्तुति र खानाका परिकारसम्म नेपालीपनलाई प्राथमिकता दिएका छौं । तीज, दसैं, तिहार, माघी, शिवरात्रि, बुद्ध जयन्ती, ईदलगायत विभिन्न समुदायका पर्व मनाएर नेपालका बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई सम्मान गर्ने गरेका छौं । समय–समयमा आयोजना गरिने खाना महोत्सवमार्फत ढिँडो, गुन्द्रुक, अकबरे, स्थानीय माछा–मासु र अन्य रैथाने परिकारलाई प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई आफ्नै स्वादसँग जोड्ने प्रयास गरेका छौं ।
स्थानीय उत्पादन र किसानसँगको सहकार्यलाई कसरी अघि बढाउनुभएको छ ?
होटेल व्यवसाय कृषि र किसानसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । त्यसैले हामी सकेसम्म स्थानीय किसानबाट उत्पादन खरिद गर्ने नीति अपनाउँछौं । तरकारी, अन्न, माछा, मासु तथा अन्य खाद्य सामग्री स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ ।
बुटवलमा पैँचो पसलसँग सहकार्य गरेर स्थानीय उत्पादनको बजारीकरणमा पनि योगदान दिएका छौं । हाम्रो मेनुमा अकबरे पनिर, अकबरे चिकेन, पनिर मरौटीजस्ता स्थानीय स्वादका परिकार समावेश छन् । यसले किसानको उत्पादनले बजार पाउने र ग्राहकले मौलिक स्वाद अनुभव गर्ने अवसर पाएका छन् ।
रोजगारी सिर्जनामा होटेल पौवाको योगदान कस्तो छ ?
हाल होटल पौवामा ८ सयभन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा अधिकांश स्थानीय युवा छन् । हामी कर्मचारीलाई केवल कामदारका रूपमा होइन, संस्थाको परिवार र भविष्यका साझेदारका रूपमा हेर्छौं । सीप विकास, तालिम, नेतृत्व क्षमता अभिवृद्धि, अनुशासन र जिम्मेवारीलाई प्राथमिकता दिइन्छ । यही कारण धेरै कर्मचारीले संस्थाभित्रै आफ्नो करियर निर्माण गर्न सफल भएका छन् ।
युवासँग काम गर्दा तपाईंको अनुभव कस्तो छ ?
युवामा ऊर्जा, सिर्जनशीलता र नयाँ सोच हुन्छ । त्यसलाई सही दिशा दिन सकियो भने उत्कृष्ट परिणाम प्राप्त हुन्छ । हामी युवालाई केवल काम सिकाउँदैनौं, नेतृत्व गर्ने क्षमता पनि विकास गराउँछौं । नेपालमै बसेर मेहनत गरे भविष्य बनाउन सकिन्छ भन्ने विश्वास युवामा जगाउन आवश्यक छ । अवसर खोज्नेभन्दा अवसर सिर्जना गर्ने सोच विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
तपाईंलाई विदेश जाने सोच कहिल्यै आएन ?
मलाई व्यक्तिगत रूपमा विदेश जाने सोच कहिल्यै आएन । पढाइ पूरा गरेपछि २०७२ सालदेखि होटेल पौवासँग आबद्ध भएँ । नेपालमै इमान्दारीपूर्वक काम गरेर पनि सफल हुन सकिन्छ भन्ने विश्वास थियो । यही यात्रामा धेरै मानिससँग सम्बन्ध जोडियो, अनुभव बढ्यो र सिक्ने अवसर पाइयो । मेरो लागि यही सबैभन्दा ठूलो सम्पत्ति हो ।
१० वर्षको यात्राले तपाईंलाई के सिकायो ?
सुरुमा म भैरहवा शाखाको ब्रान्च म्यानेजर थिएँ । अहिले १९ वटा शाखाको ब्रान्ड व्यवस्थापन गर्ने जिम्मेवारीमा छु । यो यात्राले नेतृत्व क्षमता, निर्णय गर्ने कला, व्यवस्थापन अनुभव र आत्मविश्वास बढाएको छ । इमान्दारिता, निरन्तर सिकाइ र टोलीमा विश्वास गर्न सके सफलता सम्भव रहेछ भन्ने अनुभव मैले यही यात्राबाट हासिल गरेको छु । ग्राहक, कर्मचारी र लगानीकर्ताबिच निर्माण भएको विश्वास नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।
होटेल व्यवसायलाई अझ प्रभावकारी बनाउन के आवश्यक छ ?
सेवा उद्योगमा सबैभन्दा ठूलो पूँजी भनेकै ग्राहकको विश्वास हो । त्यसका लागि गुणस्तरीय सेवा, स्पष्ट रणनीति, अनुशासित व्यवस्थापन, दक्ष जनशक्ति र निरन्तर सुधार आवश्यक हुन्छ । ग्राहकले एकपटक विश्वास गरेपछि उनीहरू फेरि फर्किन्छन् र अरूलाई पनि सिफारिस गर्छन् । त्यसैले हामी सेवा र गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।
होटेल पौवाको आगामी योजना के छ ?
हाल देशभर १९ वटा शाखा सञ्चालनमा छन् । अब हाम्रो लक्ष्य शाखा विस्तारसँगै व्यवस्थापन सेवामा पनि प्रवेश गर्ने हो । उत्कृष्ट सञ्चालन प्रणाली र ब्रान्ड अनुभवका आधारमा अन्य होटललाई व्यवस्थापन सेवा उपलब्ध गराउने योजना छ । दीर्घकालीन रूपमा नेपाली आतिथ्य सेवालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने र ‘नेपाली हस्पिटालिटी’लाई विश्वसामु चिनाउने लक्ष्य राखेका छौं ।
अन्त्यमा, तपाईंको व्यक्तिगत लक्ष्य के हो ?
मेरो व्यक्तिगत यात्रा होटेल पौवासँगै जोडिएको छ । संस्थालाई अझ बलियो बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, आफूलाई निरन्तर परिष्कृत बनाउँदै ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने नै मेरो लक्ष्य हो । हामीले केवल होटेल सञ्चालन गरेका छैनौं, नेपालीपनलाई जीवन्त राख्ने अभियान अघि बढाएका छौं । त्यसैले हाम्रो विश्वास छ–आज होटेल पौवा एउटा व्यवसाय मात्र होइन, सबैको मन–मनमा बस्न सफल नेपाली ब्रान्ड बनेको छ ।