© २०२३
जितपुर, २३ फागुन ।
कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ठूलो मात्राको रकमसहित चार जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका–४, जितपुरस्थित केसी फेन्सी पसलको भूमिगत कोठाबाट शंका लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहत इलाका प्रहरी कार्यालय पिपराको टोलीले बिहीवार राति ९ः४५ बजे चार नम्बर चोकमा रहेको केसी फेन्सी पसलमा छापा मारेको थियो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त पसलको भूमिगत कोठामा भारतीय रुपियाँको अवैध कारोबार भइरहेको आशंकामा छानबिन गरिएको हो ।
प्रहरीले उक्त स्थानबाट स्रोत नखुलेको भारतीय तथा नेपाली नगद गरी कुल २८ लाख १० हजार रुपियाँ बरामद गरेको छ । बरामद रकममध्ये ९ लाख भारतीय रुपियाँ रहेको छ भने नेपाली १९ लाख १० हजार रुपियाँ फेला परेको छ । भारतीय रुपियाँको नोटहरू ५०० दरका १ हजार ८२१ थान रहेका छन् । नेपाली रुपियाँमा १ हजार दरका १४ हजार ३९१ थान र ५०० दरका ९७१ थान रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क–५ का ३० वर्षीय गोविन्द बिक, कपिलवस्तु मायादेवी गाउँपालिका–८ का ३८ वर्षीय सोजनाथ कसौधन, बुटवल–१६ का ४१ वर्षीय बसन्त खरेल, र कपिलवस्तु नगरपालिका–११ का ४२ वर्षीय शेषनारायण गिरी रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिइएका चारै जनामाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा स्रोत नखुलेको रकमको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व कार्यालय रूपन्देहीमा पत्राचार गरिएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहन मणि अधिकारी का अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप छानबिन भइरहेको छ । प्रहरीले उक्त रकम अवैध कारोबार वा अन्य कुनै आपराधिक गतिविधिमा प्रयोग भएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ ।
भूल सुधार
यसअघि स्रोत नखुलेको २९ लाख रुपियाँ सहित एक व्यक्ति पक्राउ शीर्षकको समाचारमा भुलवश बुटवल–१६ निवासी गोविन्द गैरेको नाम र तस्विर पर्न गएकोले सच्याइएको छ । प्रकाशित समाचारले निजलाई पर्न गएको असुविधाप्रति प्रकाशन संस्था क्षमायाचना प्रकट गर्दछ । सं.