© २०२३
काठमाडौँ ।
गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले कार्यक्रम रोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले भनेका छन्- “यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केहि व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो। हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!”
दुर्गेशले दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको उल्लेख गरेका छन्। उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको समेत पोष्टमा दाबी गरेका छन्।
दुर्गेशले लेखेका छन्:
“कहिलेकाहीं जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे। म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ। तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो। मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो।
कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको उर्जा हो। तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन।
यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केहि व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो। हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!
तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन! मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।
मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु। नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्राण्ड बनाउँदै जान्छु! दर्शकको अपार माया, हजारौंको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन्! किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ, जबसम्म मेरो लागि दर्शकहरूको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन!
दुश्मनहरूलाई एक मात्र जवाफ— दुश्मन हेरेको हेरै! त्यसैले “दुर्गेश थापा नाम होइन ब्राण्ड हो, ब्राण्ड!”