© २०२३
कोभिड अघिसम्म लुम्बिनीमा १५ लाख पर्यटक भित्रेको तथ्यांकमा देखिन्छ । कोभिड संक्रमणपछि भने ठप्प रहेको लुम्बिनी पछिल्लो समय चलायमान भएको छ । यो वर्ष करिब ११ लाख पर्यटक भित्रिएका छन । बौद्ध धर्मको उद्गमस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदा यसले होटलमा लगानीकर्ताको आकर्षण देखिएको छ ।पर्यटन क्षेत्रमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण मानिन्छ । अझ सेवामुलक उद्योग होटल ब्यवसायमा ठूलो लगानी छ । गुणस्तरीय पर्यटनलाई गुणस्तरीय होटलको आवश्यकता पर्दछ । यहाँ केवलकार, सुबिधासम्पन्न पछिल्लो समय समयको माग र आवश्यकतालाई मध्यनजर गरि लुम्बिनीमा ठूला लगानी र गुणस्तरीय सेवा दिने होटलमा लगानी भएको छ । पर्यटन र प्रविधि अहिले एकअर्काको पुरक बनेको छ ।
नेपालमा आन्तरिक र बाह्य रूपमा धार्मिक पर्यटक आउने गर्दछन् । आन्तरिक पर्यटकहरू बुद्ध धर्म मान्ने नेपालीहरू, विशेष गरी थेरवाद बौद्ध धर्मावलम्बी आउँछन भने थाइल्यान्ड, श्रीलंका, जापान, चीन, कोरिया, र म्यानमारका बौद्ध धर्मावलम्बीहरू पर्यटकका रूपमा वर्षेनी भित्रन्छन । यसका साथै विद्यार्थी, अनुसन्धानकर्ता, र शिक्षकहरू लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्व अध्ययन गर्न आउँछन । विश्वविद्यालय र अनुसन्धान संस्थानहरूसँग सम्बन्धित विद्वानहरू, लुम्बिनीको आसपासका क्षेत्रहरूको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीको अनुभव गर्न चाहने पर्यटकहरूसमेत भित्रने गर्दछन । बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रका विभिन्न मोनास्ट्रीहरूको भ्रमण, विश्व शान्ति स्तूप र अन्य ऐतिहासिक स्थलहरूको अवलोकन, ध्यान, योग, विश्वभरका बौद्धमार्गी पर्यटक भित्रने गर्दछन् ।
भारतको मुख्य गरि दक्षिण भारत, महाराष्ट्र, बिहारबाट लुम्बिनीमा पर्यटक ठूलो मात्रामा भित्रने गर्दछ । उनीहरू लुम्बिनी हुँदै काठमाडौँ र पोखरालाई गन्तब्य बनाउने गरेका छन । बाह्य पर्यटकहरूको आकर्षणको अर्को केन्द्र बर्दिया निकुन्ज र ढोरपाटन शिकार आरक्षण पर्छ । वर्षेनी ठूलो रकम तिरेर पर्यटकहरू शिकार गर्न आउँछन । ढोरपाटन जाने पर्यटकहरू काठमाडौंबाट पोखरा हुँदै सिधै जाने गर्दछन । भने पछिल्लो समय भारतिय पर्यटकहरूलाई यसतर्फ आकर्षित गराउने गरि प्याकेज बनाउन सके राम्रो लाभ हुने देखिन्छ । ‘पटनाबाट ढोरपाटनको प्याकेज बनाउन सम्भावना छ ।’–पर्यटन ब्यवसायी रचना पन्त भन्छिन । आन्तरिक र भारतिय धार्मिक पर्यटकहरूको रोजाईमा स्वर्गद्वारी र सुपादेउराली पहिलेदेखिकै रोजाई हो । ‘लुम्बिनीमा ३ घण्टा भन्दा बढी बस्दैनन पर्यटक,’–उनले भनिन् । पर्यटकको बसाइँ लम्बाउने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने उनको सुझाव छ ।
पर्यटकको रुचि र आवश्यकतालाई जोड दिएर उत्पादन गर्न सरोकारवाला संस्थाहरू लाग्नुपर्ने देखिन्छ । अर्कोतर्फ प्राकृतिक सौन्दर्यले भरिएका पहाडी क्षेत्रहरू जस्तो रुरु रेसुङा घुमाउने अभियान चलाउनुपर्छ । यसको बजारीकरण गर्न जरुरी छ । यसबाट पर्यटक बसाइँ लम्याउन सकिन्छ । ‘भारतिय पर्यटकलाई आकर्षण गर्ने नीति बनाउन जरुरी छ,’– उनले भनिन । छिमेकी देश भारतका पर्यटकले लुम्बिनी प्रदेशको पर्यटन ब्यवसायलाई धानेको छ । यसमा दुईमत छैन । नीतिगत रूपमा रहेका समस्या भने हटाउनुपर्ने देखिन्छ । दुई केबलकार पछिल्लो समय पर्यटकको आकर्षण बनेको छ ।
प्रदेशमा भित्रने खर्चालु पर्यटकहरूलाई लक्षित गरि उच्चस्तरीय सेवा दिने गरि तारे होटलहरू संचालन भएका छन् । पाँचतारे होटलको मुख्य उद्देश्य पाहुनालाई विलासी र सम्झनलायक अनुभव प्रदान गर्नु हो । पाँचतारे होटलमा ठूलो, फराकिलो र आधुनिक सजावटयुक्त कोठाहरू, उच्च गुणस्तरका फर्निचर र सुबिधाहरू, फ्ल्याट–स्क्रिन टेलिभिजन, इन्टरनेट सुविधा र मनोरञ्जनका अन्य उपकरणहरू, भोजन र पेयपदार्थ, बहु–भान्साको रेस्टुरेन्ट, २४ घण्टा रूम सर्भिस सेवा, बार र लाउन्ज, बुफे, स्वास्थ्य र मनोरञ्जन, स्विमिङ पुल, स्पा, सौना र जाकुजी, जिम र फिटनेस सेन्टर, योग र ध्यान केन्द्र, व्यवसायिक सुबिधा, सम्मेलन हल र मिटिङ कोठा, अडियो–भिजुअल उपकरणहरू, फास्ट इन्टरनेट र प्रिन्टिङ/फोटोकपी सेवा, आतिथ्य सेवा, लगेज ह्यान्डलिङ र भ्यान पार्किङ, पर्सनलाइज्ड सेवा, जस्तै बटलर सेवा, एयरपोर्ट पिकअप र ड्रप गर्ने यातायात सुबिधा, लक्जरी गाडी र ट्याक्सी सेवा, यात्रा व्यवस्थापन र टुर गाइड, बालबालिकाका लागि खेलकुद सुबिधा, कल्चर शो वा स्थानीय कार्यक्रम गरिन्छ । प्रदेशका अधिकाश पाँच तारेमा यो सुबिधा छन् ।
पर्यटन सम्बन्धी एक सर्वेक्षणको प्रतिवेदनले नेपालमा १ लाख ४२ हजार २२३ सानाठूला होटलजन्य ब्यवसाय संचालन भएको देखाउँछ । लुम्बिनी प्रदेशमा करीब २० हजार १ सय ५८ होटलहरू छन । रूपन्देही जिल्ला धेरै होटल हुनेमा पर्दछ जहाँ करीब ४२०० होटलहरू छन । तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाहरूमा ठूला लगानीको होटलहरू न्यून छन् । रूपन्देहीमा ३ वटा पाँच तारे होटल संचालनमा छन् । जसमा सिद्धार्थ भिलासा, टाईगर प्यालेस र होटल पवन प्यालेस हुन । यसबाहेक जिल्लामा नान्स होटल, होटल मौर्या, होटल निर्वाण, एशियन बुद्ध होटल, ड्रिमल्याण्ड रिसोर्ट, बोधि रेडसन होटल एण्ड रिसोर्ट गरि आधा दर्जन चार तारे होटलहरू छन ।
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट संचालन आएपछि होटल क्षेत्रमा लगानी बढेको होटल एसोसियन अफ नेपाल (हान) का केन्द्रिय सदस्य सिपी श्रेष्ठ बताउँछन । ‘करिब ८० अर्ब रूपैयाँभन्दा बढी होटलमा लगानी भएको छ,’ उनले भने । रूपन्देहीमा नयाँ आधा दर्जन बढी पाँच तारे होटलहरू लगानीकर्ताहरूको आकर्षण भएको उनी बताउँछन । बुटवलमा हायात प्यालेस होटल स्याफरोन सिके निर्माणको अन्तिम चरणमा पुगेको छ ।
बाँकेको नेपालगंज प्रदेशको अर्को ठूलो पर्यटक भित्राउने जिल्ला हो । यहाँ होटल सोल्टी वेष्टेन्ड प्रिमियर र होटल सेन्ट्रल प्लाजा गरि दुई वटा पाँच तारे होटल छन् । सिटि प्यालेस, होटल कलपत्रु, पपलाईफ होटल, डायमण्ड प्यालेस, सिद्धार्थ होटल गरि पाँच वटा फोर स्टार लेभलका होटल छन् । होटल पौवा नयाँ पाँच तारे बन्दै गरेको अवस्था छ भने केही होटलहरू पाँचतारेमा अपग्रेडको तयारीमा समेत रहेका छन । यहाँ सात वटा क्यासिनो रहेका छन जहाँ भारतिय पर्यटकहरू क्यासिनो खेल्न र पारिवारीक बिदा मनाउन आउने गर्छन । सिजनल रूपमा गर्मीको चार महिना यहाँ धार्मिक पर्यटकहरू भित्रने गर्दछन । मानसरोवरको धार्मिक रुट पर्ने नेपालगंजमा चैत देखि साउनसम्म धार्मिक पर्यटक भित्रने गर्दछन् ।
पर्यटन ब्यवसायी माधव प्रसाद नेपालले प्रदेशमा कुल ३ लाख २ हजार ३७० पर्यटकलाई सेवा दिन सक्ने होटल ब्यवसायीहरूको क्षमता रहेको बताए । बुद्धजन्मस्थल लुम्बिनीसहित प्रदेशका बाँके, बर्दिया, दाङ, पाल्पामा बढी गुणस्तरीय पर्यटक भित्रने हुँदा पनि गुणस्तरीय होटलहरूको संख्या बढ्दो रहेको उनी बताउँछन । पर्यटन विकासमा सरकारबाट भएको लगानीले गर्दा नीजि क्षेत्रसमेत आकर्षित भएको छ ।लुम्बिनी प्रदेशमा सेवामुलक होटलहरूमध्ये कुन स्तरका होटल कति छन ? कहाँ कहाँ छन ? प्रदेशमा वर्षेनी कस्ता पर्यटकहरूहरू भित्रन्छन । उनीहरूको गन्तब्य कुन हो ? उनीहरूको चाहना के हुन्छ ? भन्ने तथ्यांक पाउन भने निक्कै कठिन छ ।