© २०२३
गुल्मी,०६ माघ ।
गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत भार्सेका महिलाहरू गाउँमै लघुउद्यम शुरु गरेका छन् । फुर्सदको समयमा घरमै बसेर अल्लोका कपडा बुनेर राम्रो आम्दानी समेत गरेका हुन् ।
सत्यवती गाउँपालिका –८ स्थीत भार्से एउटा जनजातीहरूको सिँगो गाउँ हो । परम्परागत रैथाने खाद्यवालीहरू उत्पादन हुने उक्त गाउँका महिलाहरू पछिल्लो समयमा उद्यमशिलतामा लागेका छन । पहाडी जिल्लामा अल्लो अर्थात लेकाली सिस्नुको कपडा बनाउने चलन पुरानै हो । तर गुल्मी जिल्लामा यसको व्यवसायीक रूपमा उद्यम सञ्चालन भएको छोटो समय भएको छ ।
ग्रामीण क्षेत्रमा यत्तिकै सडेर गईरहेका लेकाली सिस्नोलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सरकारले पनि अल्लोका कपडा बनाउन महिलाहरूलाई प्रेरित गरेपछि त्यहाँका महिलाहरू व्यावसायिक रूपमा यसरी अल्लोका कपडा बनाउने काममा लागेका हुन । भार्सेमा गत आठ वर्षदेखि लघुउद्यम सञ्चालनका लागि साझा सुविधा केन्द्र स्थापना गरिएको छ । त्यसै लघुउद्यम केन्द्रमा स्थानीय १४ जना महिलाले अल्लोको धागोबाट टोपी, गलबन्दी, कोट, सल, मजा लगायतका सामग्रिहरू बनाउदै आएका छन ।
अल्लोबाट उत्पादन हुने धागो टिकाउ, नरम, र बलियो हुन्छ । ग्रामिण क्षेत्रदेखि अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग बढिरहेको कारण यसले स्थानीयहरूको जीविकोपार्जनमा समेत सहयोग पुराउने सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए । उद्यम सञ्चालनका लागि गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीबाट तालिम एवं प्रबिधि समेत सहयोग गरिएको छ ।
नयाँ पुस्ताहरूलाई यो पेशामा खासै चासो नभएका कारण भार्सेमा पुराना पुस्ताहरूले अल्लोको व्यावसायलाई निरन्तरता दिँदै आएका छन । अल्लोको कपडाको माग बढी भएका कारण बिक्रीका लागि बजारको समस्या नभएको गाउँपालिका अध्यक्ष पाण्डेले बताएका छन ।
नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि पालिकाले वडा नं.३ को लुम्पेक स्थीत देउरालीडाँडामा तालिम सञ्चालन गरि पुस्ता हस्तान्तरण गर्ने काममा लागेको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताईन ।
सत्यवतीमा अल्लोको प्रचुर सम्भाबना भएको कारण त्यहाँका महिलाहरू कृषि कर्मसँगै फुर्सदको समयमा अल्लोबाट उद्यम गरे राम्रो आम्दानी गर्न थालेका छन् । अल्लोको कपडा तयार पार्नको लागि शुरुमा सिस्नोको बोट काटेर यसको छालाको बाहिरी भाग निकाल्ने र यसलाई राम्रोसँग सफा गर्नुपर्दछ । त्यसपछि पानीमा खरानी राखेर उमाल्ने र उमालेपछि धोयर घाममा सुकाउने गरिन्छ । सुकाई सकेपछि त्यसलाई हात वा चर्खाको माध्यमबाट धागो काटेर कपडा बुन्ने गरिएको स्थानीय रामकुमारी दर्लामीले बताईन ।
यसलाई बनाउने प्रक्रिया र मेहनत लामो भए पनि यसबाट बन्ने कपडा टिकाउ र सुन्दर हुन्छन । अल्लोका कपडाहरू विशेषगरी पहाडी क्षेत्रका समुदायहरूको पहिचानका रूपमा चिनिन्छन । अल्लो खेतीले ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्न र आर्थिक रूपमा सशक्त बनाउन समेत मद्दत पुराउँदै आएको छ ।