© २०२३
१५ वर्षसम्म शासनसत्तामा एकछत्र राज गरेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अन्ततः बहुमतको सरकार हुँदाहुँदै मुलुक छाडेर निर्वासित हुनुपरेको छ । जनताले अस्वीकृत गरे बहुमतको सरकार पनि क्षणभरमा ढल्दोरहेछ भन्ने यो पछिल्लो उदाहरण हो । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनलाई दवाउने प्रयास गर्दैगर्दा अन्ततः उनी आफै देश छाडेर भाग्नु प¥यो । शासकका लागि यो भन्दा अर्को ठूलो बिडम्वना केही हुन सक्दैन । दुई महिनादेखि जारी आन्दोलनलाई शेख हसिनाले कहिल्यैपनि महत्व दिईनन् । बरू आन्दोलनलाई आतंककारीको संज्ञा दिइन् । आन्दोलन दमन गर्न सेनालाई अप्रत्यक्षरूपमा प्रयोग गरिन् । जसको परिणाम अहिले आफै बहिर्गमित हुनुप¥यो ।
शासकहरूमा तानाशाही बन्ने प्रवृत्ति हावी भयो भने त्यो पतनको दिशातर्फ जान्छ भन्ने कुरा बंगलादेशमात्र होइन विश्वका धेरै मुलुकका शासकहरूको रवैयाले पुष्टी गरेको छ । बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने अवसर पाएकी शेख अन्ततः देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुगेको सुन्दा जो कोहीलाई नमज्जा लाग्छ तर त्यो अवस्था आउनुका पछि उनको निरंकुशबादी चरित्र सवैभन्दा ठूलो कारक रहेको सुन्दा सान्त्वना बाहेक अरू केही दिन सकिदैन् । शेख हसिनाको निरंकुश बन्दा उनको राजनीतिक जीवन सकिएको मात्र छैन, अब त्यहाँका जनताले बर्षसम्म राजनैतिक अस्थीरताको अवस्था खेप्नुपर्ने हो, टुंगो छैन । एक नेताको निरंकुशताबादी चरित्र र व्यवहारका कारण अव करोडौं बंगलादेशीले दुःख पाउने अवस्था उत्पन्न भएको छ । सैनिक शासकले सत्ता हातमा लिएपछि अव त्यहाँ लोकतन्त्रको कुरा कल्पनामात्रै हुने हो कि, सेना प्रमुखले भनेजस्तो विस्तारै जनतालाई नै सत्ता सुम्पिने हुन अन्योल छ ।
जनता जागे भने शासकको केही चल्दैन भन्ने कुरा बंगलादेशको मात्र होइन, नेपालको उदाहरण पनि काफी छ । विगतमा ज्ञानेन्द्र शाहले शासन हातमा लिएर निरंकुशता लाद्ने प्रयास गर्दा राजतन्त्र नै अन्त्य भएको बिर्सन सकिदैन । विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी गत बर्ष बहिस्कार गरेको निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिट जितेको थियो । तर, प्रमुख विपक्षी दल बीएनपीले निष्पक्षतामाथि प्रश्न गर्दै चुनाव बहिस्कार गरेको थियो । चुनावका लागि तटस्थ सरकार बनाउन माग राख्दा पनि प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले घातक बल प्रयोग गरेर विरोधीमाथि दमन गरेको आरोप लागेको थियो । सोमबारको घटना पनि विद्यार्थी आन्दोलनको कारण मात्र नभई सरकारको आफ्नै कार्यशैलीका कारण सत्ता पलट भएको भन्दा अन्यथा हुँदैन ।
आफूसंग बहुमत छ भन्ने नाममा नेता निरंकुश हुन खोज्नुको पछिल्लो परिणाम हो बंगलादेशको राजनीति । सरकारमा दम्भ पलायो भने त्यो क्षणभंगुर हुन सक्छ भन्ने कुरा शेख हसिनाले बल्ल थाहा पाईन् । विद्यार्थी आन्दोलनलाई सहज तरिकाले सम्बोधन गरेर स्थितिलाई बिग्रन नदिएको भए यो अवस्था आउने थिएन भन्ने कुरा शेखले बल्ल बुझेकी होलीन तर अब धेरै ढिलो भैसकेको छ । समय र घटनाक्रमले शेखलाई इतिहासको किनारमा धकेलीदिएको छ । अब शेखको शासन बंगलादेशबाट सदाका लागि अन्त्य भएको छ । किनभने शेखले अव राजनीतिबाट अलग हुने संकेत गरेकी छिन । सरकारले जनताको कुरा नसुन्दाको परिणामबाट छिमेकी अरू देशले पाठ सिक्नु आवश्यक छ । शासकहरू सत्तामा हुँदा अन्धो बन्ने गरेको किम्बदन्ती केवल गाउँखाने कथाजस्तो नभएर यथार्थमा कति घातक हुँदो रहेछ भन्ने कुराको पछिल्लो साक्षी शेख हसिना भएकी छिन । बंगलादेशको घटनाबाट अरू धेरै देशले पाठ सिक्नु जरुरी छ । खासगरि नेपालका राजनैतिक दलहरूले बंगलादेशमा भएको घटनाको छायाँसम्म पनि नेपालमा पर्न नदिनेतर्फ अब सचेत बन्नु जरुरी छ । बंगलादेशको राजनैतिक घटना हामी सवैका लागि सबक बनोस् ।