© २०२३
आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्र अनुसार हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो बर्षको नारा पनि लागूपदार्थ रोकथामका लागि सामूहिक प्रयास गरौं भन्ने रहेको छ । यो दिवसको उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो । आज यो दिवस मनाउँदै गर्दा लागूपदार्थका कारण विश्वले ठूलो चुनौतिको सामना गर्नुपरिरहेको छ । नेपालकै सन्दर्भमा कुरा गर्दा युवाहरू कुलतको भड्खालोमा पुगेका छन । विश्वमा पछिल्लोसमय लागूऔषधको कारोबार धेरै बढेको देखिएको छ । लागूऔषधको प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९ लाख मानिसको मृत्यु हुने गरेको तथ्याँक सार्वजनिक भएको छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन । अझ भनौं नेपालमा कलम कापी समाउने हातमा लागूऔषध पुग्ने गरेको छ । यसको प्रयोगले युवाहरू कुलतको बाटोमात्र मात्रै होइन, यसबाट एचआइभी, हेपाटाइटिस लगायतका गंभीर रोगहरू हुने गरेको छ । पछिल्लोसमय नेपालमा लागू औषधको प्रयोग गंभीर चुनौति बन्दै गएको छ । यसको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । हाल नेपालमा एक लाख ४० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ । लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृह मन्त्रालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । निश्चितरूपमा लागू औषध नियन्त्रणमा अहिलेपनि चुनौति छ । नेपालको युवा जनशक्ति यसको कुलतमा परेको छ । जसको मुक्तिका लागि हामी सवैको सार्थक प्रयास र पहल जरुरी छ । नेपालमा लागू औषधको प्रयोगकर्ता बढ्नु अपराधको दर बढ्दै जानु, लागू औषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ । यसको नियन्त्रणका लागि स्वस्थ, सभ्य र समुन्नत समाज निर्माण गर्नु जरुरी छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानी भएको छ । यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत बाधा पुग्नुका साथै स्वस्थ, सभ्य अपराधमुक्त समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौती सिर्जना हुने निश्चित छ । आजको दिवसको अवसरमा नेपाल सरकार, समुदाय अनि सरोकारवालाले लागूपदार्थ नियन्त्रणमा संवेदनशीलताका साथ हातेमालो गर्नु जरुरी छ । आजको दिनमा हामी सबैले लागूऔषधको कारोबार र तस्करका विरुद्ध एक हुने प्रतिवद्धता गर्नु पर्दछ । विश्वमा अहिले अधिकांश लागू औषधका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् । उनीहरू कुलतमा लागेका छन । युवा उमेरमा युवाहरू कुलतमा लाग्ने ठूलो जोखिम हुन्छ । घर परिवारले यो उमेरमा आफ्ना सन्तानलाई खुला छोडिदियो भने त्यो उनीहरूका लागि सुनमा सुगन्ध जस्तै हुन्छ । अतः लागूपदार्थ नियन्त्रणमा सवैभन्दा पहिले परिवार, समाज, सरकार र सिंगो राष्ट्रको अह्म दायित्व हो । दिवसको यही अवसरमा लागूऔषध विरुद्ध राष्ट्रिय ऐक्यबद्धता अति आवश्यक छ । नेपाल यो समस्याबाट प्रताडित छ । लागूपदार्थकै कारण व्यक्तिको घर चौपट भएको छ । परिवार लथालिङ्ग भएको छ । लागू औषध प्रयोगकर्तामा देखापरेका गम्भीर स्वास्थ्य समस्या तथा पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले अव यसको सेवन, प्रयोग गर्नेहरूमाथि कडा कारवाही गर्नेतर्फ सरकार पछि हट्नुहुँदैन । लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको खाँचो छ । यो दिवसले सवै नेपाली युवाहरूमा यही सचेतना फैलाउन सकोस् ।