© २०२३
लमही, ७ असार ।
प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा शुक्रबार संकल्प प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेकी छिन् । लुम्बिनी प्रदेशमा सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो संकल्प प्रस्ताव भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिव दुर्लभ कुमार पुनले सभामुख समक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरेका हुन् ।
सडक दुर्घटना न्युनिकरण र सुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाको आगामी बैठकमा पेश हुनेछ । सुरक्षित यात्रा, सुरक्षित सवारी सम्वन्धमा हाल प्रचलनमा रहेका कानुनी व्यवस्थाले पर्याप्त सम्वोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।
लुम्विनी प्रदेश भित्र सडक दुर्घटना पीडितको लागि आकस्मिक उपचार निःशुल्क उपचार व्यवस्था र दुर्घटनाको दु्रत गतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पीडितले आफ्नो जिवनयापन सहज तरिकारले बांच्न सक्ने गरी क्षतिपुर्तीको व्यवस्था समेत हुनुपर्ने आवश्यकता महशुस भएकाले लुम्विनी प्रदेशले आवश्यक कानुन नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न लुम्विनी प्रदेश सरकारको ध्यानकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।