© २०२३
आज विश्व रक्तदाता दिवस । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर सन. २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस पनि भनेर मनाउने गरिन्छ । रक्तदाता दिवस मनाउन थालेको दुई दशक पूरा भएको अवसरमा यो बर्षको दिवसको नारा पनि ‘धन्यबाद रक्तदाताहरू २० बर्ष पूरा गर्नुभएकोमा’ भन्ने राखिएको छ । गम्भीर प्रकृतिका र शल्यक्रियामार्फत उपचारका सन्दर्भमा ‘रगत’ को आवश्यकता पर्ने हुनाले देशका महत्वपूर्ण स्थानमा रेडक्रसले ‘ब्लड बैंक’ स्थापना गरी रगत आवश्यक पर्ने विरामीलाई रगत उपलब्ध गराउँदै आएको छ । रेडक्रसद्वारा सञ्चालित रक्त केन्द्रहरूले ‘रक्तदान’ द्वारा आवश्यक सेवा दिँदै आएका छन् । तर, अहिले बिरामीको चाप, त्यही अनुपातमा शल्यक्रिया अनि बढी संख्यामा बच्चा अस्पतालमा जन्माउने आमाहरू भर्ना हुने हुँदा रगतको आवश्यकता तथा माग र आपूर्तिका बीच अन्तर बढ्न गएको छ । विगत केही समयदेखि रगतको चरम अभावको अवस्था छ । त्यसको प्रत्यक्ष मार बिरामीमा पर्छ र कतिपय मामिलामा समयमा शल्यक्रिया नहुँदा उनीहरूको ज्यान थप जोखिममा पर्ने गरेको छ । यो संवेदनशील मानवीय समस्या हो र अमूल्य मानव जीवन रक्षामा समाज आफ्नो दायित्वबाट वञ्चित हुन सक्दैन् । पछिल्लोसमय रक्तदानको बिषयमा आम चेतना बृद्धिमा योगदान पुग्दै आएको छ । युवाहरूको एउटा समूह रक्तदानमा सकृय रहँदै आएको पनि छ । यो खुसीको कुरा हो । स्वयंसेवी रक्तदाताहरूको अभियानबाट धेरै रक्तदानमा सहयोग पुगेको छ । बुटवलमा पनि रक्तदाता समूह र स्वयंसेवी रक्तदाता समूह स्थापना भएको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने गरि सचेतनामूलक ¥याली, कोणसभा, प्रभातफेरी लगायत कार्यक्रम आयोजना गरिंदै आएको छ । रगतको महत्व बुझाउँदै त्यसको आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप यो दिवस मनाउने गरिएको सन्दर्भमा कसैकोपनि रगत अभावमा ज्यान नजाओस् भन्नेतर्फ सचेत हुनुपर्ने आवश्यक छ । साथै यो दिवसले नयाँ रक्तदाताहरूलाई उत्प्रेरित गर्ने भएकोले यो दिवसको महत्वको बिषय आफैमा ओजपूर्ण छ । रक्तदाता दिवसकै अवसरमा रगत अभावमा मृत्यु शैयामा पुगेकाहरूलाई बचाउने ती असंख्य रक्तदाताहरूलाई सम्मान दिनु अति आवश्यक छ । अबका दिनमा रक्तदानको निरन्तरता र रक्तदाताले सम्मान पाउने अवस्था सिर्जना गर्नुपनि त्यत्तिकै आवश्यक छ । रगत दान कति समयको अन्तरमा हुँदा राम्रो हुन्छ र त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, यी सबै विषयबाट रेडक्रससँगै स्कुल पाठ्यपुस्तकमा ‘पाठ’ समावेश गरिएमा त्यसले अरूको जीवन रक्षामा युवा तथा विद्यार्थीलाई प्रोत्साहित गर्ने छ । त्यस्तै बराबर रक्तदान गर्नेहरूलाई सरकार र समाजका विभिन्न निकाय तथा अस्पतालहरूले समेत सम्मान गर्न थालेमा त्यसले धेरैलाई प्रोत्साहित गर्ने छ । रक्तदान गर्नेहरूको संख्या मुलुकमा कम छैन, तर उनीहरूको व्यवस्थित र व्यापक सञ्जाल नहुँदा अनि अरूको जीवन रक्षामा उनीहरूको योगदानलाई समाज र सरकारले उचित कदर गर्न नसक्दा पनि अहिलेको अभावको स्थिति उत्पन्न भएको हो । त्यो सँगसँगै ब्लड बैंक सञ्चालन गर्ने रेडक्रसले अभाव हुनुअघि नै नियमित अपिल जारी गर्दा यस्ता समस्याको समाधान समयमै हुनेछ । अव हरेक सरकारी अस्पताल र केही नीजि ठूला अस्पतालले आफ्नो ब्लड बैंक स्थापना गर्नु अत्यावश्यक भैसकेको छ । त्यो माग पनि उठेको छ । स्वयंसेवी रक्तदाता समाज रूपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा ब्लड बैंक स्थापना माग गरेको छ । अस्पतालले अव ढिलो नगरी ब्लड बैंक स्थापना गरेर विरामीले दिने द्रुत सेवामा आफूलाई प्रतिवद्ध गरोस् । रगत नपाएकै कारण कोही कसैले ज्यान गुमाउने अवस्था सिर्जना नहोस् ।