© २०२३
दाङ,१६ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि र ज्येष्ठ नागरिक बीच छलफल गराएको छ । छलफलमा सहभागी ज्येष्ठ नागरिकले राज्यले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुबिधा सम्बन्धित निकायले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
उनीहरुले सार्वजनिक यातायातको भाडामा पाउनुपर्ने ५० प्रतिशत छुट कार्यान्वयन नगरिएको भन्दै त्यसलाई कार्यान्वय गराइदिन आग्रह गरेका छन् । कार्यक्रममा जेष्ठ नागरिक दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले सार्वजनिक यातायातमा चढ्दा आफूहरुले भाडामा ५० प्रतिशत छुट नपाएको भन्दै आफ्नो अधिकार माग्दा गाडी स्टाफबाट दुव्र्यवहार खेप्नुपरेको गुनासो गरे । ज्येष्ठ नागरिक ललितबहादुर वलीले ज्येष्ठ नागरिकलाई समाजमा सम्मानजनक व्यवहार गर्ने वातावरण हुनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले ज्येष्ठ नागरिकको सम्मानबिना सभ्य समाजको कल्पना गर्न नसकिने बताए । नगरप्रमुख खड्काले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि आफू गम्भीर रहेको भन्दै सरोकारवालासँग यसबारेमा छलफलगरी कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा अध्यक्ष, सचिव र तुलसीपुर क्षेत्रका ज्येष्ठ नागरिक र जन प्रतिनिधिको सहभागिता रहेको थियो ।