© २०२३
दाङ, ७ जेठ ।
एमाले दाङको १४ औं अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्यसहित सबै पदमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
नेकपा एमाले दाङको आगामी कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि गरिएको प्रयास स्वरुप आज बेलुकी मात्रै सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
जसको उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित १ सय १९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए ।
हिजो बेलुकीबाट शुरु भएको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्न जिल्ला प्रतिनिधिबीच सहमतिको प्रयास गरिएको थियो । जस अनुसार अध्यक्ष आचार्यसहित ५ जना पदाधिकारी, जनजातिबाट ४ जना, खुलाबाट ४ जना, महिलाबाट ५ जना, मुस्लिमबाट १ जना, मजदुरबाट १ जना सर्वसम्मत चयन भएका छन् । यसैगरी, पालिका अन्तर्गत घोराही उपमहानगरपालिकाबाट २७ जना, तुलसीपुर उपमहानगरपालिकाबाट २५ जना, लमही नगरपालिका र बबई गाउँपालिकाबाट ७–७ जना, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाबाट ६–६ जना, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकाबाट ५–५ जना जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमालेका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिबाट नयाँ नेतृत्व चयन भएको हो ।
अधिवेशनमा १ सय ८३ जना महिला सदस्य, १ सय ४३ जना दलित सदस्य, ३ सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची १ अनुसार ५० जना र अनुसूची २ अनुसार ३९ जना गरी ७ सय ८८ जना अधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।
दुई दिन चलेको अधिवेशनबाट आगामी कार्यकालका लागि सर्वसम्मत चुनिएका पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुलाई भोलि पार्टी कार्यालयमा सपथ ग्रहण गराईने भएको छ ।