© २०२३
दाङ, १ जेठ ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले देशमा राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक र सांस्कृतिक जागरण ल्याउने अभियानको थालनी भएको बताएका छन् । उनले अभियानले सार्थकता पाउन नसकेको बताए ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्जको १८औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा शर्माले जागरण ल्याउने अभियानलाई सार्थक बनाउन मिडियासँगै सरोकारवाला सबैको प्रभावकारी भुमिका आवश्यक रहेको बताए । रेडियोको संस्थापक अध्यक्षसमेत रहेका शर्माले अहिलेसम्म प्राप्त गरेको उपलब्धी र रुपान्तरणको अवस्था बारे समिक्षा गरेर अभियानको सार्थकतामा लाग्न जरुरी रहेको बताए । देशमा पछिल्लो समय विभिन्न प्रकारका विकृति विसंगतिले गाँज्दै लगेको भन्दै समाजमा सकारात्मक विचार र व्यवहार स्थापना गर्न मिडियाले सबै चुनौती चिर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले खोलिएको रेडियोले समाजको विश्वास आर्जन गर्न सफल भएको बताए । उनले रेडियो मध्यपश्चिमले खेलेको भुमिकाको सिको अरु संचारमाध्यमले पनि गर्नुपर्ने बताए । समन्वय समितिले गरिरहेका कामलाई रेडियोको माध्यमबाट उजागर गर्न सघाएको भन्दै कामको प्रभावकारीता बढेको बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रेडियो सबै क्षेत्रलाई समान स्थान दिएको प्रति खुशी व्यक्त गर्दै मानव स्वास्थ्यका विषयलाई पनि प्राथमिकता दिने गरी कार्यक्रम संचालन गर्न सुझाव दिए ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले समाजमा चेतना अभिवृद्धि गर्न रेडियोले खेलेको भुमिका प्रशंसनीय रहेको बताए । उत्तरदायी पत्रकारिताको अभ्यासका माध्यमबाट रेडियो मध्यपश्चिमले आफुलाई प्रमाणित गर्दै आएको बताउँदै अबका दिनमा आउने चुनौतिलाई बुझेर प्रविधि र जनशक्तिलाई सही रुपमा उपयोगमा ल्याउन आग्रह गरे । उनले युवा पुस्तामा सम्भावना र अवसरका सकारात्मक विषयलाई उठान गर्न सुझाव दिए ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सबै वर्ग, क्षेत्र र समुदायको आवाज उठाउने काममा निरन्तरता दिन अपिल गर्दै स्थानीय सरकारका रुपमा रहेको घोराहीले व्यवहारिक कार्यान्वयनमा हुने कठिनाई सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।
रेडियोका पूर्व अध्यक्ष एवम् सल्लाहकार माधवप्रसाद शर्माले तथ्य र सत्यका आधारमा रेडियोले आफ्ना सामग्री प्रसारण गर्ने काम गर्दै आएको बताए । उनले रेडियोले आफ्नै सम्पादकीय नीति बनाएर काम गर्दै आएको जानकारी गराए ।