© २०२३
चन्द्रौटा(कपिलवस्तु), ३१ बैशाख ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारुले थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको बताएका छन् । कपिलवस्तुको गोरुसिंगेमा सोमबार आयोजित थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धी ५ दिवसीय तालिमको उघाटन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्य रहेका बताए । थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको शसक्त नेतृत्व विकास हुन आवश्यक रहेको समेत सदस्य थारुले जिकिर गरे ।
यस्तै थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तिव जोगाउने युवा पुस्ता गैर जिम्मेवार बन्दै गएको बताईन् । बरघर प्रथा जोगाउन समेत जिम्मेवार हुने पुस्ता नै जिम्मेवार नदेखिएपछि संरक्षण गर्न यस्तो तालिम आयोजना गरेकोमा प्रशांसा उनले गरिन् । पुर्खौली रितिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको सुमित्राको भनाई छ । यसैबीच थारु कल्याणकारिणी सभाका कपिलवस्तु जिल्ला अध्यक्ष पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिका स्तरिय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरु गर्ने योजना रहेको दावी गरे ।
तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, महाराजगञ्ज र बुद्धभूमि लगायत विभिन्न पालिकाका विभिन्न गाउँका २ दर्जन बढी बरघर तथा थारु समुदायका अगुवाहरुको सहभागिता रहेको लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन डिभिजन कार्यालयले जनाएको छ । पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम भएको र दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन हुने अधिकृत जनक राज खनालले जनकारी दिए । पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्य, लेखा अधिकृत बिनोद पौडेल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।