© २०२३
बुटवलमा शनिवार राती परेको भारी बर्षाका कारण केही क्षेत्रमा भएको डुबान र क्षतिले सवैलाई सचेत बनाएको छ । बर्षाअघि नै नदी तथा तलको तटीय क्षेत्रको जोखिमका बिषयमा ध्यान नदिने हो भने यो अवस्था फेरीपनि दोहोरिन सक्छ भन्ने यो उदाहरण हो । रातभरीकै भीषण बर्षाले बुटवल प्रभावित भएकोले बर्षाको समय आउन अझै बाँकी छ । त्यो बेला बुटवलको अवस्था के होला ? यसको उत्तर सहज छ– अब बुटवलका जनता सवै सतर्क हुनु जरुरी छ । नदी, कल्र्भट तथा ढल निकासलाई समयमै ख्याल नगर्दा नाली, कल्भर्ट थुनिएकै कारण बाढीको यत्रो बितण्डा भयो । यद्यपि बाढीले ठूलो क्षति भने गर्न पाएन । तर, बुटवलका जनतालाई सचेत भने बनाएको छ । अर्कोतर्फ बुटवल उपमहानगरपालिकाले समेत बर्षा अघि नै बुटवलको साना खहरे, नदी, कल्भर्ट, ढल सफाईमा ध्यान दिनु जरुरी छ । बुटवल हरेक बर्ष बर्षापछि आउने बाढीको चेपुवामा पर्दै आएको छ । तिनाउ नदीबाट प्रभावितहरूको विस्थापनको पीडा एकातर्फ छँदैछ ।
अर्कोतर्फ सहरभित्रै नदी नै बग्ने भेल आउँदा बुटवल सहर जोखिममा छ भन्ने प्रमाणित गरेको छ । ज्योतिनगरको पीडा छँदैछ । त्यहाँका स्थानीय जनता बर्षाैदेखि बर्षायाममा त्रसित हुनुपरेको छ । शनिवार राती परेको पानीले रूपन्देही उद्योग संघ, पश्चिम नेपाल बस ब्यवसायी सघ र रासस कार्यालयमा बाढी पसेर क्षति भएको छ । उता सोह्र छत्तिस कुलाको पानी होराइजन स्कुलमा समेत पुग्दा आज विद्यार्थीलाई बिदा दिनुपर्ने अवस्था आएको छ । एक दिनको पानी त्यो पनि बैशाखको पानीले यतिधेरै क्षति गरेको छ । तसर्थ अझै बर्षाको समय आउनै बाँकी छ । शनिवार रातीको पानीले बर्षाअघि सचेत बन्नुपर्ने चेतावनी दिएको छ । त्यसैपनि नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नयाँ कुरा होइन । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको छ । पूर्वी पहाडी जिल्लामा प्रकोपजन्य जोखिम सुरु भैसकेको छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरूपमा न्यूनीकरण गर्दै जानुपर्ने भएतापनि उक्त कार्यमा अपेक्षित प्रगति हुन सकेको देखिदैन । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरू) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्वतयारी एवं पूर्व सावधानी सहितको कार्ययोजना तत्काल बनाउन, उद्धार लगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधि लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नेतर्फ सरकारले अहिलेदेखि नै ध्यान दिनु जरुरी छ ।
बाढी पहिरोको समस्या समाधानको लागि सम्बन्धित सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गरी छिटो काम गरेमा जोखिम न्यूनिकरण हुने अपेक्षा गर्न सकिन्छ । अतः बाढीबाट पूर्व सतर्कता अपनाउने कुरामा अवपनि सम्वेदनशील नहुने हो भने जोखिम झनै बढ्ने छ । बर्षा आउनै बाँकी छ । बर्षा पूर्वको भीषण बर्षाले सवैलाई सचेत बनाएकोमात्र छैन, मौसमले खबरदारी गरिसकेको छ । अव यो खबरदारीलाई आत्मसाथ गर्दै यो बर्षको बर्षा पूर्व जोखिम न्यूनिकरणतर्फ सम्वन्धित निकायको ध्यान जानु अत्यावश्यक छ ।