© २०२३
भैरहवा, २७ वैशाख ।
राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत ३५ औँ स्थापना दिवसका अवसरमा पानी र भेली वितरण गरेको छ ।
दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि पानी र भेली वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्यले बताए । उनले गर्मी मौसममा सर्वसाधारणलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । ‘मेरो कार्यकालमा यसअघि विभिन्न कार्यक्रम भइसकेका छन् । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा पनि विभिन्न रचनात्मक कार्य भएका छन् । आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जानेछौं,’ आचार्यले भने । राष्ट्रिय युवा संघले सधै जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य श्रद्धा कुँवरले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘धेरै सेवाग्राही आउने प्रशासन कार्यालय अगाडि पानी र भेली वितरण राम्रो कार्य हो । युवालाई समेट्ने कार्यक्रमहरु गर्दै जानुपर्छ । राष्ट्रिय युवा संघ सिद्धार्थनगरको राम्रो टीम छ । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा राम्रा कार्यहरु भएका छन् ।’
नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले राष्ट्रिय युवा संघ सिद्धार्थनगरले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भने, ‘सामाजिक प्राणी भइसकेपछि जनतालाई परेका समस्या समाधान गर्न लाग्नुपर्छ ।’
राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका सह–सचिव मनिषराज पाण्डे, सचिव अमित पौडेल लगायतले मन्तब्य दिएका थिए ।