© २०२३
नेपालको राजनीतिमा दल टुटफुटको पछिल्लो उदाहरण जसपा नेपाल बनेको छ । आईतवारमात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा विभाजन भएको छ । पार्टीका बरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको छ । यद्यपि दल विभाजनले देशलाई हित गर्दैन । कुनैपनि दल बिभाजित हुँदा त्यसको धेरथोर असर देशलाई परेकै हुन्छ । विगतमा भएका दल टुटफुटका धेरै उदाहरण साक्षी छन । केन्द्रीय राजनीतिमा जसपाभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको छ । जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिर अशोक राईतर्फ खुलेपछि गुमेको कृषि तथा सहकारी मन्त्रालयमा पदबहाली भएका छन । दल टुटफुटले कसैलाई सत्तामा पु¥याएको छ भने कसैलाई सत्ताबाट बाहिर पु¥याएको छ । त्यसकारण दल विभाजनको असर किमार्थ राम्रो होइन । जसपाभित्र मात्र होइन नेपालका ठूला राजनैतिक दलबीचमा पनि अविश्वास, वैरभाव एवं गतिरोध यथावत नै छ । दलहरूमा देखिएको बेमेल एवं असहमतिले बेलाबेलामा मुलुक गतिरोधको अवस्थामा पुग्ने गरेको छ । दलहरूवीचको बढ्दो बैमन्स्यता, अन्तरपार्टी कलह आदि कारण मुलुकको विकासमै बाधा पुगिरहेको छ । त्यसै त विकास बजेट खर्च हुन नसक्दा मुलुकको आर्थिक विकासमा बिलम्ब भैरहेको छ । सुन्दर, शान्त, समृद्ध नेपालको साटो भद्रगोल अथवा भावी नेपालको चित्र भयावह देखिँदैछ । मुलुक अनेकथरिका समस्याबाट घेरिएर प्रतिदिन सङ्कटोन्मुख दिशातिर लम्कँदैछ । मुलुकको नीति निर्माण तहमा रहेका राजनीतिक दल र तिनका अगुवाहरू दायित्व निर्वाह गर्न चुकिरहेका छन । नेताहरूले जनमुखी राजनीतिप्रति आफ्नो इच्छाशक्ति प्रकट गरेको पाइँदैन । यसको एकमात्र कारण स्वार्थपरक राजनीति नै हो भन्न अब कति हिचकिचाउनु पर्दैन । आपसी प्रतिद्वन्दिता, आवेश र निषेधले बेमेल उत्पन्न भएको छ । हाम्रा नेतागणले उज्यालो बाटो हिँड्नुको साटो अलग अलग बाटो समात्दा मुलुकको भविष्य अँध्यारो देखिदैछ ।
नेपाली राजनीतिको निर्णायक शक्ति मानिएका जनतालाई नेताहरूका गैरजिम्मेवार अभिव्यक्ति र काम कारबाहीले निरास वनाएको छ । यसबाट दल र तिनका नेताले जनतासामु आफूलाई विश्वस्त बनाउन नसकेको प्रमाणित हुँदैछ । नेताको सङ्ख्या अवश्य पनि धेरै छ तर पनि राजनेताको कोटीमा उभ्याउन सकिने बिरलै देखिएका छन । राजनेतामा हुने गुण, योग्यता र क्षमताको अभाव मुलुकमा देखापर्दैछ । यसले आम नागरिकमा राजनीतिक दल तथा तिनका नेताप्रति निराशा, आक्रोश र घोर बितृष्णासमेत बढाउँदै लगेको भान हुँदैछ । राजनीतिमा सत्ता, पद एवं प्रतिष्ठाको चाहना राख्नु स्वाभाविक हो । राजनीति गर्नेहरूमा यस्तो अभिलाषा रहन्छ तर मुलुक र जनतालाई पहिलो प्राथमिकतामा राख्न नसक्नु कमजोरी ठान्नैपर्दछ । नेताहरूका क्रियाकलाप सत्ता, पद र प्रतिष्ठा नै प्राथमिकतामा रहेकाले अर्थात् अति महत्वाकाङ्क्षी भएका कारण मुलुकको राजनीति उद्देश्यविहिन एवं दिशाहीन हुन पुगेको तथ्य घाम झै छर्लङ्ग हुँदै गएको छ ।
पछिल्लोसमय नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ । नेकपा माओवादी केन्द्रले देश घुमाईरहेको छ । मधेशवादी दलहरू सत्तासीन हुन तछाँडमछाँड गर्दैछन् । अरू साना दलहरूले आफै आफ्नो भूमिका कमजोर वनाउँदैछन् । यस्तो बेला अन्तर पार्टी सम्वन्धलाई मजबुत वनाउनेतर्फ दलहरूको ध्यान जानु जरुरी छ । तर, त्यो असम्भव छ । किनभने दलहरू एकले अर्कोको अस्तित्व स्वीकार गर्नै चाहँदैनन् । सत्ताको वरिपरी नाच्ने बानी सवैलाई परिसकेको छ । विगतमा सत्ताकै लागि दल विभाजन भएको इतिहास रहेकोले दल विभाजन गरेर सत्तामा पुग्ने काम किमार्थ राम्रो होइन । यसतर्फ दलहरूको ध्यान जानु जरुरी छ ।