© २०२३
गत बर्षदेखि मधेश प्रदेश सरकारले बैशाख १७ लाई बालविवाहविरुद्धको दिवसको रूपमा मनाउने घोषणा गरे अनुसार सोमवार मधेशभरी बालबिबाहविरुद्धको दिवस औपचारिक कार्यक्रम गरि मनाईएको छ । मधेशमा बालबिबाहको समस्या गंभीर समस्याका रूपमा देखापरेको अवस्थामा यो दिवसले आम मानिसमा बालबिबाह विरुद्धको चेतनाबृद्धिमा ठूलो सहयोग पुयाउने निश्चित छ । गत बर्ष नै मधेश प्रदेश सरकारले जनकपुरधाममा दिवसकै अवसरमा दुई दिवसीय मधेश बालिका सम्मेलन गरेको थियो । यो बर्ष भने त्यसको छनक अहिलेसम्म देखिएको छैन । यो हरेक सरकारको समस्या हो । कार्यक्रम सुरु गरेपछि त्यसलाई निरन्तरता नदिने ठूलो कमजोरी हो । मधेश सरकारले यो बर्ष सामान्य कार्यक्रम गरेर बालबिबाह विरुद्धको दिवस मनाएको छ । एक हिसावले भन्दा अनौपचारिकतामै सीमित भएको छ यो दिवस । त्यसो त मधेशमा बालबिबाह ठूलो समस्याका रूपमा रहेको छ । मधेशमा मात्रै होइन बालबिबाहको समस्या केही तराई र पहाडी जिल्लामा समेत समस्याकै रूपमा देखिएको छ । बालबिबाहविरुद्धको दिवस मनाउनेक्रममा गत बर्ष नै मधेश सरकारले सन. २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना सार्वजनिक गरेको हो । मधेश प्रदेश सरकारले त्यसै अनुसार १० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत गरिसकेको छ । प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने रणनीति अनुसार सरकारले काम ग¥यो भने त्यसले एउटा राम्रो प्रतिफल दिने आशा एवं विश्वास गर्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन सवैले हातेमालो गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मधेश प्रदेशमा यसअघिको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको थियो । प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्देश्यले संचालन गरिएको उक्त अभियानले मधेशका जनतामा चेतना बृद्धिमा सहयोग पुगेको छ । यद्यपि यो अभियानबाट चाहेको अनुरूप प्रतिफल प्राप्त हुन नसकेको भने यथार्थ हो तर अवका दिनमा यो अभियानलाई पनि सफल बनाउन सक्ने हो भने मधेशमा चेलीबेटीप्रति गरिने दुव्र्यवहारका घटना नियन्त्रण गर्न सहयोग पुग्नेछ विश्वास गर्न सकिन्छ ।
निश्चितरूपमा बालबिबाहको सवैभन्दा ठूलो समस्या मधेशमा छ । मधेशमा यो मात्रै होइन दाईजो प्रथाले पनि ठूलो जरा गाडेको छ । बालबिबाहको समस्या चेतना नभएकै कारण अति पिछडिएको क्षेत्रमा छ । जहाँ राज्यको पहुँच त्यति पुग्दैन । घर गृहस्थी चलाउने नाममा उमेर नपुगी विवाह गरिदिने समस्या भयावह नै छ । विहेबारी २० बर्ष पारी भन्ने अभियान सञ्चालन गरिएपनि त्यसको पहुँच अझै पिछडिएको बस्तीसम्म पुगेको छैन । मधेश प्रदेशमा अहिले बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको छ । प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पु¥याउने निश्चित छ । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढेको छ । यसले मधेश प्रदेशको सर्वाङ्गिण उत्थानमा बल पुग्ने निश्चित छ । चेलीबेटीलाई पहिले साक्षर बनाएर प्रदेशलाई बालविवाह मुक्त बनाउन सकियो भने निश्चितरूपमा त्यसको प्रत्यक्ष प्रभाव अरू प्रदेशमा पनि पर्नेछ । साक्षरताले मात्रै बालबिबाहबिरुद्धको सामाजिक विकृति रोक्न सकिने भएकोले त्यसतर्फ अरू प्रदेशले पनि पहल लिनुपर्ने खाँचो छ । बालविवाह मुक्त प्रदेश बनाउनका लागि बालबिबाहका मतियारहरूलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गरिनु हुँदैन । मधेशमा बालबिबाहविरुद्धको दिवस मनाउँदै गर्दा यसको सकारात्मक सन्देश अरू प्रदेशमा पनि प्रवाह गर्नु आवश्यक छ । यो समस्या कुनै एक प्रदेशको भन्दा पनि आम समस्या भएकोले यसविरुद्धको अभियानलाई देशव्यापी बनाउनु आवश्यक छ ।