© २०२३
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्राएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्राएर कलकारखाना, उद्योगधन्दा स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको हो । दुई दिन चल्ने सम्मेलनमा ९ खर्ब रूपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिएको छ भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन् । त्यसै त विगत दुई बर्षदेखिको आर्थिक मन्दी, रुस युक्रेन युद्ध र कोरोनाले निम्त्याएको संकटका बीच नेपालमा व्यावसायिक लगानीको वातावरण केही बर्षयता कमजोर बन्दै गएको बेला लगानी सम्मेलनले महत्वपूर्ण आशाको सञ्चार गरेको छ । विगतमा भएका लगानी सम्मेलनले केही आशाको सञ्चार गरेको थियो तर पछिल्लो विश्व आर्थिक मन्दी त्यसमा तगारो बनिदिएको छ । त्यसै त नेपालमा उद्यम गर्ने राम्रो वातावरण नै अहिलेसम्म तयार भएको छैन, त्यसमाथि बेलाबेलामा आईपर्ने झमेलाले समस्या निम्त्याउने गरेको छ । नेपालमा अहिलेसम्म भएका लगानी सम्मेलनले बाताबरण बनाउने प्रयास गरेपनि सरकारको नीति र नियम बाधकका रूपमा देखापरेको छ । त्यसै त नेपालमा हुने राजनीतिक खिचातानी र जालझेलको प्रत्यक्ष असर लगानीमा परिरहेको छ । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासावाहेक केही छैन । नेपालमा जारी राजनीतिक अस्थिरताका बीचमा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाईरहेका छन् । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । २०५२ साल यता मुलुकमा सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । बडो दुःखका साथ भन्नुपर्छ ऋण धन गरेर लगानी गरेको उद्योग व्यवसाय बन्द गर्नुपर्दा उद्योगीहरूको अवस्था कस्तो हुन्छ ? केही समय अघिसम्म मुलुकको आर्थिक क्षेत्रमा करिव २० प्रतिसत योगदान पु¥याएको नीजि क्षेत्रको योगदान अहिले झर्दै गएको छ । यस्तो अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कहाँ पुग्ला ? मुलुकको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले समयमै सोँच्न जरुरी छ ।
लगानी सम्मेलन सुरु भैरहेको आजको परिवेशमा नेपालमा अझैपनि नयाँ व्यवसाय दर्ता गर्ने प्रक्रिया झन्झटिलो रहेको छ । बिद्युतका लागि एक बर्षसम्म कुर्नुपर्ने अवस्था छ । कर्मचारीहरूले समयमा काम नगरिदिदा लगानीकर्ता निरास हुनुपर्ने अवस्था अझैपनि छ । नेपालका व्यवसायीहरूले सरकारलाई नियमित रूपमा तिर्नुपर्ने कर बुझाउनकै लागि मात्र वर्षमा ३ सय ३९ घण्टा समय खर्चनुपर्ने स्थिति रहेको छ । नेपालमा सहजताका साथ व्यवसाय गर्ने वातावरण बिग्रनुमा नियामक निकायहरूको नियमनकारी भूमिका विश्वका उदाहरणीय नियमनकारी निकायहरूको भूमिकाभन्दा धेरै फरक रहनु नै एक कारण हो । मुलुकमा लगानीयोग्य व्यवसायिक वातावरण धमिल्याउने सन्दर्भमा अन्य विभिन्न पक्षबाट सिर्जित समस्याहरू लामै समयदेखि कायमै छन् । तगाराहरू कायमै रहँदा सरकारले गरेको लगानी सम्मेलनले मात्रै केही हुँदैन । लगानीका लागि जबसम्म सहज र सरल प्रकृया हुँदैन तबसम्म नेपालमा जति नै लगानी भित्राएपनि विदेश लगानीकर्ता छोडेर जाने अवस्था हुने छ । तसर्थ लगानी सम्मेलन गर्दैगर्दा लगानीको बाताबरण तयार गर्नेतर्फ ध्यान दिनु जरुरी छ । लगानी सम्मेलनमा विश्वका करिब आठ सय विदेशी र चार सय नेपाली लगानीकर्ताले सहभागिता जनाएका छन । यो खुसीको कुरा हो । लगानी सम्मेलनले काठमाडौं दुलहीजस्तै सिंगारिएको छ । तर, सहर जति नै सिंगारेपनि जबसम्म लगानीको वातावरण हुँदैन तबसम्म लगानीको वातावरण तयार नहुने भएकोले लगानीमैत्री वातावरण तयार गर्नेतर्फ ध्यान जाओस् ।