© २०२३
हरेक वर्ष गर्मीयाम शुरू भएसँगै आगलागीका घटनामा ठूलो जनधनको क्षति हुने गरेको छ । यो बर्ष गर्मी सुरु नहुँदै आगलागीका घटना सुरु भएका छन । पाल्पा जिल्लाको रिब्दीकोट ४ भैरवस्थान नजिक भएको आगलागी तीन दिन अघि मुस्किलले नियन्त्रणमा आएको छ । पूर्व भोजपुरको एक गाउँ नै सखाप हुनेगरी आगलागी भएको छ । नेपालगञ्जमा भएको आगलागीले करोडौंको क्षति पुगेको छ । शनिवार रातीमात्रै रंगेलीमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु भएको छ । २५ घर परिवार आगलागीको चपेटामा परेका छन । यस प्रकारका घटनामा पछिल्लोसमय मानवीय क्षति बढ्दै गएको छ । भोजपुरको हतुवागढी गाउँमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । गर्मी सुरु नहुँदै सुरु भएका आगलागीका घटनाले चिन्ता थपेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ । आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । विशेषगरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकोले यो समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् । विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ ।
पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युतको पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना हुने गरेको छ । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीका घटनामा धेरै नोक्सानी भएको छ । साँगुरो बाटो, बाक्लो बस्ती, समयमा अग्निनियन्त्रक यन्त्र पु¥याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पु¥याएको छ । यस विषयमा पनि अव सचेतनामात्रै होइन नियन्त्रणको उपायको आवश्यकता छ । अर्को कुरा, आगो नियन्त्रणका लागि पानीको समस्या प्रमुखरूपमा गाउँ–शहर जताततै रहेको छ । धेरैजसो आगलागीका घटना सानो मानवीय गल्तीका कारण हुने भए पनि आमनागरिक सचेत हुन सकेका छैनन् । घटना घट्नुअघि नै सचेतना अपनाई आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्नुपर्छ । खासगरी अहिले हरेक पालिकामा बारुणयन्त्रको व्यवस्था गरिएको छ । बारुणयन्त्र नभएका पालिकाहरूले समेत गर्मी याममा बारुणयन्त्रको व्यवस्था गर्नुपर्दछ । फागुनको अन्तिम र चैतको सुरुवातमै भैरहेका यस प्रकारका आगलागीका घटनाले बैशाख र जेठमा झनै जोखिम बढाउने संकेत गरेको छ । तसर्थ अहिलेदेखि नै आगलागीका घटना नियन्त्रण तथा सचेतनामा आम जनसमुदायको ध्यानाकर्षण जरुरी छ । सवैभन्दा पहिलो प्राथमिकता आगलागी हुनै नदिने हो र कथंकदाचित भैहालेपनि छिटोभन्दा छिटो नियन्त्रण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । त्यसका लागि संघीय सरकार भन्दा पनि स्थानीय पालिकाहरूले आगलागीका घटना नियन्त्रणमा प्रभावकारी संयन्त्रको निर्माणमा जोड दिनु जरुरी छ ।