© २०२३
लमही, ३ चैत । गढवा गाउँपालिका वडा नं. ८ कोईलाबासबाट ८ किलोमिटर पश्चिममा अवस्थित ३६ घरधुरीको बसोवास रहेको खबरीनाकामा नेपाल टेलिकमको टावर नहुँदा त्यहाँका नागरिकहरू संचारबिहिन भएर निकै सास्ती खेपेको बताएका छन् । सबैजसो घरहरूमा एक/एक थान भारतिय र नेपाली सिमकार्ड राखेका छन् तर भारतिय सिमबाट नेपालमा रहेका अफन्त ईष्टमित्रलाई फोन गर्न बिवस भएको बताउँछन् ।
नेपाली नागरिक भएर पनि भारतिय सिमको प्रयोग गरी नेपालमा रहेका ईष्टमित्र र आफन्तलाई फोन गर्नु परेको छ । नेपाल टेलीकमले टावर नबनाईदिँदा निकै सास्ती भएको छ । सरकार हामीलाई फोन गर्न टावर चाहियो–गढवा–८ को दुर्गम बस्ति खबरीनाका बस्ने सावित्री घर्तिले भनिन –‘श्रीमानले बिदेशको खाडीमा काम गर्नुहुन्छ, उहाँसँग भिडीओ कल गर्न कि त भारतमा जानुपर्छ कि त गढवा, लमही र घोराहीमा रहेका आफन्तकहाँ पुग्नुपर्छ ।’ श्रीमानको डिउटीको समय मिलाउन उतै रात बसेर भिडीओ कलमा कुरा गरेर गाडीमा फर्किनु पर्छ, गढवा पुग्न मात्र कोईलाबास सम्म २ घण्टा पैदल र कोईलाबासबाट १ सय ७० रुपियाँ भाडा लाग्छ–सोहि गाउँ निवासी पुष्पा कुमारी बुढामगरले भनिन्, हामीलाई सास्ती भो सरकार हामीलाई टेलीकमको टावर चाहियो ।
सोहि गाउँका चन्द्रबहादुर बुढा मगर सामुदायिक वनका अध्यक्ष हुनुहुन्छ । सामाजिक काममा अग्रसर हुँदा फोन गरिरहनु पर्छ, आजको युगमा पनि अर्काको देशमा पुगेर नेपालका कार्यालयहरू र आफन्तलाई फोन गर्नुपर्छ । संचार सेवाबाट बन्चीत हुनुपर्दा राज्यले हेपेको महसुस भएको छ–उलले भने । नेपाली सिमबाट फोन गर्नुपरेमा कि त डेढघण्टा पैदल हिँडेर कोईलाबास जानुपर्छ कि त सवा घण्टा हिँडेर आम्सुते डाँडा र रानीपोखरी लेकमा उक्लिनु पर्छ । अन्यथा भारतिय सिम नै प्रयोग गर्नुपर्छ–सोहि गाउँकै बिद्यालयका शिक्षक हिमा बुढाले गुनासो गरे ।
युद्धकालमा अहिलेका प्रधानमन्त्री पनि यो गाउँमा आएका हुन । अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनले पनि भात खाएकै हुन् । हाम्रै दाङका मेटमणि चौधरीलाई पनि जिताएर पठाएका हौं । चुनाव आउँदा नेताहरू घरघरै भोट माग्न आउँछन् तर जितेर गएपछि हाम्रा समस्या सुन्दैनन् । पटक–पटक नेपाल टेलीकमको टावर माग गर्यौं तर मागको संबोधन भएन–गढवा ८ खबरीनाका निवासी कविता बुढा मगरले आक्रोस ब्यक्त गरे, हामी नेपाली भएर पनि नेपाली भएको अनुभूती छैन । हाम्रा कुरा कुनै नेताले सुनेनन्, संचारमन्त्री दाङकै हुनुहुन्छ रे त्यहाँसम्म पत्रकारले कुरा पु¥याईदिनु प¥यो–सरकार हामीलाई टेलीकमको टावर चाहियो ।
गढवा–८ खबरीनाकाका ३६ घरधुरीका नागरिकहरू घरमै बसेर नेपाल वा बिदेशमा फोन गर्नुपर्दा भारतिय सिमको प्रयोग गरी महंगो चार्ज तिर्न बाध्य छन् । गाउँका प्रत्येक घरका २÷३ जनाका दरले बैदेशिक रोजगारीमा खाडी र तेश्रो मूलूकमा कार्यरत छन् तर सबैले भारतीय सिमकार्ड प्रयोग गरी आफ्नो परिवारसंग संचार सम्पर्क गर्छन् । आजको २१ औं सताब्दिमा पनि टेलिकमको टावर नभएर संचारबिहिन हुनुपर्दा त्यहाँका नागरिकहरूले सास्ती त खेपैकै छन् नेताहरू र प्रशासकहरूलाई सत्तोसराप गर्न पनि बाध्य छन् ।
खबरी नाका जस्तै गढवाको घङराल नाका, भौंरीसाल नाका राजपुरका गुरुङनाका, सुकौली, सिरीया, पटौली, बिसपोखरी, बरवा, कल्याणपुर, सुनपथ्री, डग्मारा र अठबरुवा नाकाहरूमा बस्ने नेपाली नागरिकहरू टेलीकमको टावर नहुँदा भारतीय सिम प्रयोग गरेर बिदेशमा बस्ने घरपरिवार, नेपालका इष्टमित्र, आफन्त र कार्यालयहरूमा फोन गर्न बिवस छन् । आजको युगमा पनि संचार सेवाको पहुँचबाट टाढा हुनुपर्दा नेपाली सिमानाका रक्षक नाकाबासीहरूको पिडा र दुर्भाग्य हो । यस बिषयमा संचारमन्त्री र नेपाल टेलीकमको तत्काल ध्यान जानु जरुरी देखिन्छ ।