© २०२३
आज ११४ औं विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ यो दिवस मनाईदैछ । प्रत्येक बर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिन्छ । हरेक बर्षको एकपटक दिवस मनाएर औपचारिकता पूरा गरिएपनि वास्तविकरूपमा नारीको अधिकार रक्षाको सवाल कमजोर वनिरहेको छ । महिलाहरू पछिल्लोसमय बढी असुरक्षित महसुस गरिरहेका छन । बलात्कारका घटनामात्र होइन घरको चुलोदेखि नै महिलामाथिको विभेद सुरु हुने गुनासो महिलाहरूले अहिलेपनि गर्दै आएका छन । यस सन्दर्भमा महिलाहरूका लागि अव सामाजिक न्याय जरुरी छ । लैंगिक समानता अर्को महत्वपूर्ण मुद्दा हो । महिलामाथिको अन्याय र शोषण झनै बढिरहेको सन्दर्भमा उनीहरूको सुरक्षाको सवाल महत्वपूर्ण छ । विहान घरबाट निस्किएकी महिला साँझ घर फर्किन्छिन फर्किदैनन् भन्ने ग्यारेन्टी नै छैन । चाहे त्यो निर्मला पन्तको बलात्कारको घटना होस वा भागरथी बलात्कार काण्ड नै किन नहोस् । नेपालमा यस्ता धेरै विभेदका घटना हुने गरेका छन जो स्वयं महिलाले बाहिर ल्याउन चाहँदैनन् । उनीहरूमाथि सार्वजनिक नगर्न दवाव हुने गर्दछ । उनीहरू आफै असुरक्षित महसुस गरिरहेका हुन्छन । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता अर्थात जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ भन्ने पौराणिक भनाइले अव केवल किताबमा मात्र शोभा दिने गरेको छ । पुरुष प्रधान हाम्रो समाजमा महिलाको स्थिति अझैपनि दयनीय अवस्थामा रहेको छ । महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन । त्रासमा पिल्सिएका महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरूबाट नै हुने गरेको पाइएको छ । त्यस सन्दर्भमा धेरै अधिकारका सवाल भित्रभित्रै गुम्सिएका छन । महिलामाथि हुने अन्याय र दुव्र्यवहार अन्त्यका सवालमा साझा अवधारणा वनाएर जानु आवश्यक छ । उही पुरानै शैली र परम्परामा गोष्ठी गर्ने र नेतालाई भाषण गर्न लगाएर औपचारिकता पूरा हुन्छ भन्ने मानसिकतामा परिवर्तन जरुरी छ ।
महिलामाथि श्रममा पनि विभेद हुँदै आएको छ । पुरुष सरह समान ज्यालाको माग गर्न थालेको बर्षौं भएको छ तर महिलाहरूलाई श्रममा समेत विभेद हुने क्रम रोकिएको छैन । बरु संस्थागत हुन थालेको छ । श्रमको समस्या त छँदैछ, दिनहँु महिलामाथि हुने हिंसाले महिलाहरू आत्महत्या गर्न बाध्य भएका छन । त्यसै त शिक्षा, सीप, ज्ञानको अभावमा महिलाले अनेकांै हिंसाहरू बेहोर्ने गरेका छन् । कु–संस्कार र धर्मको नाममा आडम्बर फैलाउँदै महिलालाई प्रताडित गर्ने व्यक्ति, वर्ग र समुदायलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले नियम कानुनको व्यवस्था गर्नुपर्छ । दण्डहीनताको संस्कृतिले जरो गाडदै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति कसैको ध्यान जान सकेको छैन । अवको दिनमा शोषित, पीडित, अपहेलित जीवनबाट महिलालाई मुक्ति दिलाउनका लागि सबै एकजुट हुनुपर्छ । महिलालाई जागरुक र शिक्षित बनाउनुपर्छ । महिलाको अधिकारका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग, विभिन्न संघ संस्था लगायत महिलाको अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले तुफानी शैलीमा काम गर्नु जरुरी छ । होइन भने महिलाहरू अझैपनि उही चुलो चौकोमा सीमित हुने दिन लम्बिदै जानेछ । महिला अधिकारको कुरा नारा, भाषण र दलहरूको चुनावी एजेण्डामात्रै बन्नेछ । त्यसकारण यस बिषयमा महिलाहरू आफैपनि आफ्नो अधिकारको सवालमा अघि बढ्नु जरुरी छ ।