© २०२३
मानव जीवन एउटा खेल हो । यसका आफ्नै नियम हुन्छन् । जसरी हरेक खेलमा आफ्नै नियम हुन्छन् र ति नियम पालना गरेर खेलियो भने खेल रोचक हुन्छ । खेल्नेका लागि मात्र नभएर हेर्नेहरूका लागि पनि रोचक हुन्छ । खेलका नियम आफैमा रोचक हुने हुनले सबै नियम पालना गरेर खेल्ने हो भने दर्शकहरूका लागि पनि आनन्ददायक हुन्छ । खेलका नियम रोचक हुन्छन् र रोचक तरिकाले खेल्ने हुनाले दर्शकको मन जित्न सकेका हुन्छन् । यसकारण हरेक खेलमा दर्शक झुम्मिने गर्दछन् । यस्तै जीवन पनि एउटा विशाल खेल हो र यो खेल पनि नियमपूर्वक खेल्नेहरूका समिपमा दर्शकहरू झुम्मिन्छन् । झुम्मिनुको अर्थ हो उसका अनुयायीहरू निकै संंख्यामा पाइन्छन् । आज त्यस्ता सार्थक जीवन बाँचेका निकै व्यक्तित्वका नाम लिन सकिन्छ । आजभोली खेलमा जसरी म फलानाको फ्यान हुँ भन्ने प्रचलन चलेको छ । फ्यानको अर्थ अनुयायी हो । अनुयायीको मतलव मन पराउनु हो । एउटा नियमवद्ध तरिकाले खेल्ने चतुर खेलाडीका अनुयायी हुन सके जस्तै नियमवद्ध तरिकाले जीवन चलाएका वा जीवनको सार्थक नियम पालना गरेर आफू बाँचेका र अरूलाई पनि बाँच्न उत्पे्ररित गरिरहेकाहरूका फ्यान यो दुनियाँमा कति होलान ? आफै अनुमान गर्न सकिन्छ । यस्तै नियमवद्ध तरिकाले कलाकारिता गर्ने कलाकारको पक्षमा पनि निकै अनुयायी हुन्छन् ।
आज गीत संगीतको पनि ठूलो महत्व छ । गायक वा संगीतकारको चर्चा पनि उस्तै हुने गर्दछ । ती कलाकार, गीतकार तथा संगीतकारहरूले आफूलाई नियम संगत ढंगबाट अगाडि बढाउन सकेको हुनाले उनीहरूको नाम अग्रपंक्तिमा आउने गर्दछ । जीवनको नियम पालना गर्ने साहित्यकारहरूका कृतिहरूले पनि सम्मान पाएका हुन्छन् । जसले आफ्नो लेखनीमार्फत अरूको मन छुन सकेका हुन्छन् । उनीहरूको नाम अग्रस्थानमा रहेको हुन्छ । साहित्यका पनि आफ्नै नियमहरू हुन्छन् । यसरी लेखक तथा स्तम्भकारका आफ्नै नियम हुन्छन् । उनीहरू नियम उल्लंघन गरेर लेखे भने त्यो लेखको महत्व हुँदैन । यसकारण नियम कहाँ चाहिन्छ, कहाँ चाहिदैन भन्ने हुँदैन । हरेक स्थानमा नियम हुन्छन् र ति नियमहरूको पालना गरिनुपर्दछ । यहाँ उल्लेख गरिएका केही क्षेत्रले सानो प्रभाव पार्दछ । केही समय मन विचलित बनाउने गर्दछ तर जीवनको नियम पालना गर्न नजानेमा मन विचलनका साथमा स्वास्थ्यमा समेत विचलन आउन सक्छ । हामीले जीवनको नियम पालना गर्न नसकेमा वा नजानेमा आफू तन, मन तथा वचनका कमजोर हुँदै जान्छौं । परिवार तथा समाजबाट तिरस्कृत हुँदै गईन्छ । आखिर यसरी जीवन रछ्यानमा मिल्काइएको जुठो भात जस्तै हुन जान्छ । अरूले दिएको कलो खाएर जीवन बाँचेका भन्दा फरक हुँदैन ।
जीवन जस्तो जीवन नभएको मानव जीवन रछ्यानमा मिल्काइएको भात जस्तै हो । यो जीवन हाम्रा धर्मग्रन्थको विश्वास गर्ने हो भने चौरासी लाख जुनी पार गरेर पाएको जीवन हो । भौतिक वादका कुरा गर्ने हो भने यो जीवन अनमोल जीवन हो जसलाई अर्कोपटक पाउन सकिदैन । यस्तो जीवनलाई हामीले जीवन जीउने कला नजानेका कारणले विना अर्थको बनाइरहेका छौं । एकपटक विचार गरौं हामीले बाँचेको जीवन कस्तो छ ? के हामी जीवनको नियम पालना गरेर बाँचेका छौं ? हामीले जीवन के के कामको लागि प्रयोग गर्दै आएको छौं । यो हरेक मानवले एक पटक गंभीर भएर सोच्नुपर्ने अवस्था छ । जीवन जीवन जस्तै बनाएर बाँच्नका लागि जीवन बदल्न जान्नु पर्दछ ।
जीवनको परिभाषा दिंदै प्रगतिवादी साहित्यकार एवं राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’ आफ्नो जीवनको अर्थ कवितामार्फत यसो भन्नुहुन्छ :–
हिंजोसम्म आफ्नो सिमित परिधि भित्र
सन्तुष्ट र तृप्त देखिने मेरो साथी
जब आज,
आफ्ना पुराना आस्था र सिमाहरूका अगाडि
प्रश्नहरू तेर्साएर सोंच्न थाल्छ
तव मलाई भन्न मन लाग्छ
उसको जीवनमा अव गति आउँदैन
उसको जीवनले अव जीवनको अर्थ खोज्दैछ ।
जीवनलाई हेर्नमा मात्र होइन
बुझ्नमा पनि लगाउनु पर्दो रहेछ
जीवनलाई बुझ्नमा मात्र होइन
बदल्नमा पनि लगाउनु पर्दो रहेछ
जीवन धेरैले बाँचेका छन्
कसैले जीवन कुकुर झै बाँचेका छन्
कसैले जीवन गदहाले झै बाँचेका छन्
तर तिनीहरूले मात्र जीवन जीवन झै बाँचेका छन्
जसले जीवन बदल्न जीवन लगाएका छन् ।
(सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहबाट) ।
२०२७ असार ५ गते ।
यहाँ कुकुर र गदहाको अर्थ पशुको रूपमा मानव जीवन रहेको कुरा उल्लेख भएको पाइन्छ । अर्थात ती पशुहरू अरूले जता लगायो उतै जाने र जे दियो त्यही जुठो पुरो खाएर बाँचेको रूपमा आएका छन् । जीवन बदल्न जीवन लगाउनु पर्दछ । यसको सार यही हो । जुन सारयुक्त जीवन जीउन मन पराउनेका लागि अति जरुरी छ र आवश्यक छ । यस्तै साहित्यकार नेत्रलाल अभागीले सोही कविता संग्रहमा रहेको “मृत जीवन”
शीर्षकको कवितामार्फत जीवनको सारको वारेमा यसो भन्नु हुन्छ :–
तिमी पढेलेखेका छौ
विद्वान छौ,
कविता लेख्न सक्छौ
लेख लेख्न सक्छौ
रहरलाग्दा कुरा गर्न सक्छौ
भाषणको झरी लगाउन सक्छौ
हो, तिमीमा पाण्डित्य छ
लाग्छ ,तिमी पाण्डित्यका स्रोत हौ ।
तर,
तिम्रो पाण्डित्य जव जनताको लागि काम लाग्दैन,
तिम्रो पाण्डित्य जब देशका लागि काम लाग्दैन,
तिमी दाँत ङिच्याउँदै हात थाप्छौ
देश र जनताको विरुद्धको मोर्चामा पुग्छौ
अपच हुनेगरी ‘मेवा विष्ठान्न’ घिचिरहेका हुन्छौ
अनि कुर्चीमा बसी निरिह मानिसहरूलाई हकार्न थाल्छौ
र त्यसैको पुरस्कार स्वरूप,
दुईहातले धनपैसा सोहोरिरहेका हुन्छौ ,
हो त्यतिवेला मलाइ लाग्छ,
तिम्रो पाण्डित्य भित्र मुर्खता मात्र लुकेको रहेछ
तिम्रो आदर्श भित्र आडम्बर मात्र लुकेको रहेछ
त्यसैले तिम्रो जीवन जीवन होइन
कुकुरको पो जीवन रहेछ
जो पुच्छर हल्लाउँदै कलो खाइरहेकोछ ।
(२०३४ बैशाख २ गते) ।
यो कविता २०३४ सालमा रचना गरिएको हो तर आज पनि यसको महत्व उस्तै छ । हामीकहाँ कलो खाएर सार्थक जीवन बाँचेका छौं भन्नेहरूको संख्यामा कमी आएको छैन । सबै सबैले मानव जीवनलाई सार्थक बनाउन सकेका हुँदैनन् । सार्थक बनाउनका लागि जीवन बदल्न जान्नुपर्दछ भन्ने नै हो । जीवन बदल्न जान्नु भनेको हरेक मानिसभित्र मानवता हुनुपर्दछ भनिएको हो । मानवता पनि छैन, स्वाभिमानिता पनि छैन, इमान्दारिता पनि छैन । जन्मको सार्थकता के हो र कसरी सार्थक बनाउन सकिन्छ भनेर जान्न सक्दैन, बुझ्ने चेष्टा पनि गर्दैन र बुझ्नुपर्छ भन्ने ज्ञान पनि छैन भने वास्तवमा त्यस्ता मानवले आफ्नो जीवनलाई बदल्न सक्दैनन् । जसले जीवन जीउने कला एउटा नियम भित्र रहको हु्न्छ र हरेकले त्यो नियम पालना गर्न सक्ने हो भने मात्र सार्थक जीवन बन्न सक्छ । त्यो सार्थक जीवन हो । पाण्डित्य छाँटेर मात्र हुँदैन त्यो पाण्डित्य देश र जनताका लागि हुुनुपर्दछ । यो हो वास्तवमा जीवनको लक्ष्य । धनको कुम्लो प्राप्त गर्नु वास्तविक जीवन होइन । त्यो त कलोले धानेको जीवन मात्र हो । एउटा मानिसको आकारमा वा स्वरूपमा देखिएर मात्र सच्चा मानिस हुन्छ भन्न सकिदैन । जीवन जीउने कला भनेको जीवनको नियम पालना गर्नु नै हो । जीवन सार्थक बनाउन जीवनका पनि नियम हुन्छन् र यस्ता नियम पालना गर्नाले जीवन सार्थक बन्न सक्छ भन्नेकुरा पहिले थाह पाउनु पर्दछ ।