© २०२३
नेपालगञ्ज, १० फागुन ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बाँकेमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर तथा सार्वजनिक सवारी साधनमा ट्राफिक सचेतना सम्बन्धी स्टीकर टाँसेर उद्घाटन गरेका छन् । उनले चालकहरुलाई दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालनमा विशेष ध्यान दिन आग्रह गरे । गृहमन्त्री श्रेष्ठले सडक दुर्घटनामा पछिल्लो समय धेरैको ज्यान जाने गरेको बताउँदै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताए ।
माओवादी युद्धमा दश वर्षको अवधिमा जति जनाको ज्यान गयो त्योभन्दा बढी विगत १० वर्षको अवधिमा जनताले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व बनेको बताए ।
दुर्घटना रोक्नका लागि गुणस्तरीय सडक, नियम अनुसारको सवारी साधन परिचालन र सर्वसाधारणमा चेतनाको विकास आवश्यक भएकाले सम्बन्धित सबैले यी विषयमा पनि ध्यान दिन आग्रह गरे । उनले भने ‘कुनै एउटा मात्र निकाय वा संस्थाले चाहेमा मात्रै दुर्घटना न्यूनीरकण गर्न सकिँदैन, त्यसका लागि सवारी साधनको लाइसेन्स वितरण गर्नेदेखि लिएर सवारी चलाउने, नियमन गर्ने र सर्वसाधारण जनता सबैले आ आफनो भूमिका ईमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ ।’
सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम बहादुर खत्रीले ट्राफिक सप्ताहअन्तर्गत सात दिनसम्म गरिने विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी कुबेर कडायत, नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीनराई लगायतको सहभागिता रहेको थियो । त्यसअघि जनचेतना जगाउने विभिन्न प्लेकार्डसहितको एक सचेतना ¥याली निकालिएको थियो ।
पैदलयात्री जथाभावी बाटो काट्ने, चौपाया छाड्ने जस्ता कुरा थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै सप्ताहअन्तर्गत पैदलयात्रीलाई सडकपेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवम् सडकपेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।